जनकपुरधाम।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा भित्र विवाद उत्पन्न भएको छ । पार्टी दर्ता भएको ६ महिना नबित्दै लोसपामा विवाद देखापरेको हो ।
पार्टी नेतृत्वले हालै प्रदेश २ र प्रदेशका जिल्लाहरुमा अध्यक्ष तोकेको छ । नेतृत्वले अध्यक्ष चयनमा मनोमानी गरेको भन्दै नेताहरु आक्रोशित बनेका छन् । उनीहरुले यो निर्णयलाई सच्याउन माग गरेका छन् ।



सबभन्दा असन्तुष्टी पार्टीको प्रदेश अध्यक्षमा जितेन्द्र सोनल र धनुषा जिल्लाको अध्यक्षमा चयन भएका परमेश्वर साह लिएर भएको छ ।
पार्टीले एकै व्यक्तिलाई पटक पटक दोहोर्याइ रहेको भन्दै लोसपा कै नेताहरुको एक समूहले सो निर्णयको बिरोधमा उत्रिने चेतावनी दिएका छन् ।
पार्टीको निर्णय विरुद्ध केहि नेताहरुले सामूहिक रुपमा विज्ञप्ति नै निकालेर विरोध जनाएका छन्
विज्ञप्तिमा पार्टी नेतृत्वपंक्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरी पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेकोले यो निर्णय आफूहरुलाई मान्य नहुने उल्लेख छ । पार्टीमा सामूहिक छलफल नगरी निर्णय गरिएको र आगामी दिनमा सामूहिक रुपमा निर्णय गर्न विज्ञप्तिमा सुझाव दिइएको छ ।
यी निर्णयहरु नसच्चिए बाध्य भएर आगामी कदम उठाउने विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा चयन गरेका अध्यक्ष र प्रदेशको अध्यक्षमा सोनलको नियुक्ति विरुद्ध लोसपा कै ३० जना नेताहरुले सामूहिक रुपमा विरोध जनाएका छन् ।
असन्तुष्ट नेता उमेश मण्डलले नेताहरुको दोहोरो चरित्रका कारण पार्टी धरासायी भएको आरोप लगाउदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्यालाई बेवास्ता गर्ने र अन्ततः पार्टी संकटमा पर्ने बताए ।
पार्टीका ३० जना नेताको जनकपुरधाममा बसेको बैठकले पार्टीको उक्त निर्णयहरु रद्द गर्न माग गरेको छ ।
‘अबिलम्ब निर्णय नसच्याए बाध्य भएर अर्को कठोर कदम चाल्न बाध्य हुनेछौं’ उनीहरुले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
नेता संजय सिंहले पार्टी स्थापना भएपछि सामूहिक निर्णय गर्ने प्रतिबद्धतालाई लत्याउँदै जिल्ला तथा प्रदेश नेतृत्व मनोनित गरिएको बताए । एकै जनालाई दोहोराई तेहराई जिम्मेबारी दिइ एकातिर एक व्यक्ति एक पदको अवधारणा लत्याइएको उनको भनाइ छ ।
जिल्लाका साथीहरुले सामूहिक रुपमा आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई आग्रह गरेपनि त्यसलाई अस्वीकार गरेको बताउँदै सिंहले पार्टी नेतृत्वले आफ्नो निर्णय सच्याउने विश्वास व्यक्त गरेका छन् ।





