जनकपुरधाम - कोरोना विरुद्धको भ्याक्सिन विक्रि गरिरहेका दुईजना स्वास्थ्यकर्मी जनकपुरधामबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटेको टोलीले दुबैजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ एसिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
नेपाल सरकारले निःशुल्क दिँदै आइ रहेको भ्याक्सिन १५ हजार रुपैयाँसम्ममा विक्रि गरिरहेको सूचनाको आधारमा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जनकपुरधामस्थित बसपार्कबाट ३ थान भाइल भ्याक्सिन सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
अख्तियारको टोलीले उनीहरुलाई लुकीछिपी भ्याक्सिन बिक्रि गरिरहेका अवस्थामा जनकपुरधामस्थित बसपार्कबाट ३ थान भ्याक्सिनसहित पक्राउ गरेको छ । उनीहरुले ७ हजारको दरले ३ भाइल भ्याक्सिन बिक्रि गरेको स्वीकार समेत गरेको बताइएको छ ।
उनीहरुले लामो समयदेखि ५ हजारदेखि १५ हजारसम्म खोप बिक्रि गर्दै आएको सूचना स्थानीय यूवाहरुले अख्तियारलाई दिएसँगै टोलीले सक्रियतासाथ दुबैजनालाई पक्राउ गरेको छ ।
यसअघि धनुषा कै शहीदनगर नगरपालिका ३ यदुकोहा स्थित श्रीराम हेल्थ केयरमा कोरोना बिरुद्वको खोप फेला परेको थियो । ४ थान भेरोसेल, १ थान जोन्सन एन्ड जोन्सन तथा १ थान अस्ट्राजेनेको खोप फेला परेपछि दुई जना पक्राउ परेका थिए ।