काठमाडौं- कांग्रेस सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणमा भएको निर्वाचनमा सभापतिका उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत ल्याउन नसक्दा सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो।
पहिलो चरणमा शेरबहादुर देउवाले धेरै मत ल्याए पनि बहुमतका लागि उनले प्राप्त गरेको मत प्रयाप्त भएन। कृष्णप्रसाद सिटौलाको समर्थन प्राप्त गरेर १३ औँ महाधिवशेनमा दोस्रो चरणमा सभापतिमा विजयी भएका देउवालाई यो पटक पहिलो चरणमै सिटौलाको समर्थनले फाइदा गरेन।
१३ औँ महाधिवेशनपछि प्रभावशाली नेता विजय कुमार गच्छदारलाई पार्टीमा प्रवेश गराएका देउवालाई १४ औँ महाधिवेशनमा त्यसको फाइदा हुने आंकलन गरिएको थियो।
गच्छदार मात्रै होइन पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक पार्टीका नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई पनि देउवाले पार्टीमा प्रवेश गराएका थिए। थापा कांग्रेसमा प्रवेश गरे पनि उनको प्रभाव सभापतिमा देउवालाई जिताउन प्रभाकारी देखिएन।
१३ आँै महाधिवेशनको तुलनामा केही बलियो देखिएका देउवालाई अघिल्लो महाधिवेशनको तुलनामा यो पटक खट्किएको पाटो विमलेन्द्र निधि थिए। निधि आफै सभापति पदमा प्रतिस्पर्धा गर्दा देउवा क्याम्प महाधिवेशनमा विभाजित भयो।
सिटौला, गच्छदार र थापाको अतिरिक्त साथ पाएका देउवालाई निधिको अभाव देखिएको छ। सभापति पदको दौडमा चौंथो स्थानमा रहेका निधिले प्राप्त गरेको मत मात्रै देउवाको पक्षमा खसेको अवस्थामा केही फरक आउने आंकलन गर्न सकिन्छ।
निधिले आफैले निर्वाचनअघि सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने बताएका थिए। दोस्रो चरणको निर्वाचनमा आफू, सिंह र कोइरालाबीच समीकरण बन्ने उनले बताएका थिए। दोस्रो चरणको निर्वाचनमा तीन नेता मिल्दा त्यसको असर देउवालाई पर्नेछ।
सम्भावित समीकरणलाई ध्यानमा राख्दै देउवाले आफ्नो विश्वास पात्र गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँडलाई प्रकाशमान सिंहसँग भेट्न उनको निवास पठाएका छन्। खाँडले सिंहलाई दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गर्न आग्रह गर्नेछन्।
देउवाको नेतृत्वमा कांग्रेस विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गर्दा सिंह देउवा पक्षमा उभिएका नेता हुन्।
१२ औँ महाधिवेशनमा समकीरण मिलाउन तत्कालीन सभापति सुशिल कोइरालाले सिंहलाई आफ्नो पक्षको महामन्त्रीमा उठाएपछि सिंहले देउवा क्याम्प छाडेका हुन्। त्यसयता सिंह पार्टीभित्र देउवाको प्रमुख आलोचकका रुपमा रहँदै आएका छन्।
प्राप्त मतलाई आधार मान्दा पहिलो चरणमा देउवाले सभापति पदमा विजयी हुन नसक्नुको कारणमा निधि प्रमुख पात्रका रुपमा देखिएका छन्।
यसअघिको महाधिवेशनमा देउवा पक्षमा खम्बाका रुपमा प्रस्तुत भएका निधिले यो पटक साथ छोड्दा अन्य प्रभावशाली नेतालाई आफ्नो पक्षमा ल्याउँदासमेत पहिलो चरणमा देउवा सभापतिमा निर्वाचित हुन नसकेका हुन्।




