
जनकपुरधाम- श्री रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाहपञ्चमी सम्पन्न भएको हो ।

जानकी मन्दिर परिसरमा आज भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर राम कलेवा मनाइएको हो ।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा छ । भोजन पश्चात साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने परम्परा छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ ।
विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरुले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा समेत रहेको छ ।
साधु-सन्तले जनकपुरधाममा भएको सेवा सत्कारबाट आफूहरू हर्षित भएको बताएका छन् ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत् रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ । यसअघि, सोमबार राम र सीताको विवाह सम्पन्न भएको थियो । त्रेतायुगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम र सीताको प्रतिकको विवाह गरिएको हो ।