काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक नमुना गाउँ विकास समितिको कार्यालय गौशालाका तत्कालीन सचिवमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले तत्कालिन सचिव नागेश्वर राय यादव विरुद्ध विशेष अदालत काठमाडौँमा १२ लाख ८६ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।
यादवले आर्थिक वर्ष २०६७/६८ मा निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता लगायत गा.वि.स.को विभिन्न शिर्षकको रकम अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
रायले आ.व. २०६७/०६८ मा जिल्ला विकास समितिको कार्यालय जलेश्वरबाट जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि रकम निकासा भएकोमा सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सम्बन्धित जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकहरुलाई वितरण नगरी निजहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाई भरपाईमा आफैले सहीछाप गरेको र अरु व्यक्तिहरुलाई औठाछाप गर्न लगाई १२ लाख ८६ हजार ८ सय रुपैया हिनामिना गरेका थिए ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको यादव उपर सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र विगोबमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता रिसालले विज्ञप्ती मार्फत जनाएका हुन् ।




