जनकपुरधामबाट अपहरणमा परेका एक १४ महिने दुधे बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्रहरीले बालकको उद्धार गर्दै अपहरण गरेको आरोपमा एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी वडा नं. १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोक स्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




बुधवार साँझ करिब ७ बजे देखि जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाको घर अगाडीको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएपछि प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारत तर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । ठाकुरलाई बिहिवार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ परेका उनलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्धामा म्याद थप गरी थप अनुसन्धन कार्य भइरहेको प्रहरीले जनाएको छ ।




