महोत्तरी - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते वर्दिवासमा सम्पन्न भएको छ ।
कार्यक्रममा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धीत ५२ वटा घटनाहरु इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहले प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत घटनाहरुले मध्ये यस वर्ष जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको हत्या, २२ वटा बलात्कार, ९ बलात्कार प्रयास, ३ अपहरण, ४ बोक्सीको आरोपमा कुटपिट, ३ बालविवाह, १ जातिय विभेद सम्बन्धी घटना लगायतका रहेको छ।
महोत्तरी प्रतिनिधि साहले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको पूर्व समीक्षा तथा पुनर्पुष्टि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उहाँले वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घनका घटना समावेश गर्नु पूर्व सरोकार निकायहरुसँग छलफल गरी आएका सुझावहरु वर्ष पुस्तकमा समावेश गरिने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ महोत्तरीकी आशा तोलांगीले घरेलु हिसाका घटनाहरु मिलापत्रमा टुङ्गिने हुँदा घरेलु हिंसाका घटनामा कमी आउन नसकेको बताउनु भयो ।
महिला अधिकारकर्मी उर्मिला कार्कीले मानव अधिकारको संरक्षण तथा प्रर्वद्धनका लागि इन्सेक लगायत संघसस्थाहरुसँग समन्वय गरेर प्रहरीले काम गर्नु पर्ने बताउनु भयो ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितहरुको न्याय तथा राहात पाउनका लागि महत्वपूणर् दस्तावेज बनेको नेपाल पत्रकार महासंघ महोत्तरीकी उपाध्यक्ष सुनिता बरालले बताउनु भयो ।
वर्दिवास नगरपालिकाकी प्रतिनिधि अनु खनालले इन्सेकले वर्षभरी भएका घटनाको अभिलेखिकरण गरेर राज्यलाई जिम्मेवार बनाएको बताउनुभयो ।
महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बरालले नागरिक तथा राजनीतिक अधिकार जनताले पाएपनि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार नागरिकले सहज रुपमा उपभोग गर्न नपाएकाले यसतर्फ पनि इन्सेकले राज्यलाई जिम्मेवार बनाउनलाई कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।
वर्दिवास नगरपत्रकार संजालका अध्यक्ष विक्रम रौनियारले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले ग्रामिण क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
नेकपा माओवादीका वाइसीएल महोत्तरी संयोजक मनोज थापाले मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआएकोले मानव अधिकार संरक्षणका लागि सरोकारवाला पक्ष बीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
पत्रकार विशाल बस्नेतले राजनीतिक संरक्षणका लागि पीडित पक्षले न्याय पाउन नसकेको र स्थानीय तहमा घटनाहरु मिलापत्र गर्ने गरिएकोले पनि घटनामा बृद्धि भएको बताउनु भयो ।




