वीरगञ्ज - गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय बालक राधेश्याम पटेलको मृ त्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक २४ गते छठपुजाका दिन गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा टाउकोमा चोट लागेपछि पटेल गम्भीर घाइते पटेलको वीरगञ्ज पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकले बुधबार साँझ उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
न्युरो अस्पतालबाट उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ । पोष्टमार्टमपछि उनको शव आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।
छठपूजामा पटाका पड्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय नाजिर हुसैन मियालाई त्यतिबेलै पक्राउ गरेको थियो ।
ज्यान मार्ने उद्योगमा मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा रहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।