जनकपुरधाम- धनुषामा लाखौं मुल्यको चाँदीका गहना सहित एक युवकलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधामबाट झण्डै ८ लाख बराबरको चाँदीको गहना सहित सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालय बस्ने ३० वर्षीय कुमार खातीलाई पक्राउ गरिएको छ।
जनकपुरधाम-५ बाट पक्राउ परेका खातीको साथबाट ९ केजी ७६७ ग्राम चाँदीको गहना बरामद गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १-०२-०४५ प. ८२७ नम्बरको २२० सी.सी.को प्लसर मोटरसाईकलमा सवार रहेका खातीलाई मोटरसाईकल तथा शरीरमा खानतलासी गर्दा पिठयूमा बोकेको झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ को गहना र १ लाख १२ हजार ६ सय रुपैया तथा ३ लाख बराबरको मोटरसाइकल प्रहरीले बरामद गरेका छन् ।
प्रहरीले ब्रास्लेट नगदार १८४ थान, वालिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।
पक्राउ परेका खातीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।