बर्दिबास- महोत्तरीका पुराना वामपन्थी नेता स्वर्गीय शारदाप्रसाद ढुङ्गानाको ४५ औं पूण्यतिथिमा परिवारजनले सर्पदंश उपचार केन्द्र बर्दिबास-३ गौरीडाँडालाई शयया दान गरेका छन् ।
स्व. ढुङ्गानाको ४५ औं दिनको पुण्य तिथिका दिन आज परिवारजनले उताउने प्रयोजनको एक सैया सेट (बिरामी सुताउने खाट, ओछ्याउने, ओढ्ने कपडा र सिरानीसहित) दान गरेका हुन् ।
“हाम्रा पति स्व. ढुङ्गाना सामाजिक कार्यमा उर्जासाथ सहभागी हुनुहुन्थ्यो, विगतको सामाजिक कार्यलाई निरन्तरता दिन उहाँकै ४५ औं दिनको पूण्य तिथिमा सामाजिक संस्थालाई केही सामग्री दिन चाँह्यौ” कान्छी पत्नी सरिता ढुङ्गानाले भन्नुभयो । सैया सेट सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटालाई परिवारजनले हस्तान्तरण गरेका हुन् । स्व. ढुङ्गाना उपचार केन्द्रको संस्थापकमध्येका एक र मृत्युपर्यन्त सल्लाहकार हुनुहुन्थ्यो ।
त्यसैगरी स्व. ढुङ्गानाका परिवारजनले आज नियमित योगाभ्यास र ध्यान सञ्चालन गराउँदै आएको व्रह्मकुमारी राजयोग ध्यान केन्द्र बर्दिबासलाई एक बोरा चामल (५० किलो) , ग्याँस चुल्हासहितका सामान दान गरेका छन् । ध्यान केन्द्रमा योग र ध्यानको नियमित अभ्यास हुने भएको हुँदा अभ्यासमा सहभागी हुनेहरुलाई भोजनका लागि खाद्य सामग्री र चुल्हो दिइएको बुहारी प्रमिला ढुङ्गानाले बताउनुभयो ।
यस्तैगरी स्व. ढुङ्गानाको यो तिथिको अवसर पारेर उहाँले नै स्थापना गर्नुभएको हालको जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडाका दुई विपन्न परिवारका छात्रालाई शैक्षिक सामग्री खरिदवापत तीन हजार नगद हस्तान्तरण गरियो ।
कक्षा-८ की रचिता पोखरेल र कक्षा-७ की छात्रा अस्मिता विकलाई गतवैशाखमै आपूm जिवित छँदै स्व. ढुङ्गानाले अभिभावकत्व लिनुभएको थियो । यो माविको स्व.ढुङ्गाना संस्थापक अध्यक्ष र उहाँकी पत्नी सरिता ढुङ्गाना संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो ।
सामाजिक र राजनीतिक क्षेत्रमा निरन्तर कृयाशील ढुङ्गानाको ८५ वर्षको उमेरमा गत मङ्सिर १२ गते अर्बुद (क्यान्सर) रोगका कारण निधन भएको हो । विगतमा जिल्ला विकास समिति महोत्तरीका सदस्य रही सक्नुभएका स्व. ढुङ्गाना नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो ।