जनकपुरधाम। नाम र राजधानी तोक्न सफल भएको खुशीयालीमा आज जनकपुरधाम सहित महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्ला र शहरहरुमा दिपावली मनाइएको छ र मिठाइ वितरण गरिएको छ।
प्रदेशसभाको आठौ अधिवेशनको आठौं बैठकबाट सोमवार दुई तिहाई भन्दा बढी मतका साथ प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएसंगै जनकपुरधाममा सांसद र नेताहरुलाई सम्मान गर्नुका साथै दिपावली गरिएको छ ।



नाम र राजधानी पारित भए लगतै प्रदेशसभा स्थल पुगेर जनकपुरधामको नागरिक समाजले मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव सहित उपसभामुख र सांसदहरुलाई फुलमाला, अविर र गम्छा ओढाई सम्मान गरेका छन् ।
साथै सो अवसरमा नागरीक समाजका प्रतिनिधिहरुले मुख्यमन्त्री, सभामुख, उपसभामुख सहित सांसदहरुलाई लड्डु खुवाएर धन्यवाद समेत दिए।
प्रदेशसभा स्थलमा मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताको मधेश प्रदेशको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।
यसै बिच खुसीहालीमा जनकपुरधामको जनकचौकमा आयोजित दिपप्रज्वलन कार्यक्रममा पुगेका जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश स्थापना भएकोमा खुसी व्यक्त गर्दै शहिदको सपना र सहादतको सम्मानमा पहिलो कदम र सफलता भएको बताउदै धेरै काम गर्न वाँकी रहेको बताए ।
अध्यक्ष यादवले आठै जिल्ला सहि तर पहिचान मधेश भएको बताउदै खुसी व्यक्त गरेका छन् ।
जसपा नेतृ तथा मन्त्री रेणु यादवले मधेशी शहिदको सपनाको पहिलो चरण पुरा भएको बताउदै यसमा सहभागिताका लागि सम्पुर्ण सांसदलाई धन्यवाद ज्ञापन गरिन्।
त्यसैगरी जनकपुरधामवासीले राजधानी र मधेश प्रदेश भएकोमा खुसी व्यक्त गर्दै सर्वसाधारणहरुले पसल तथा घरमा मैनवती बालेर दिपावली मनाएको छ ।
यसैबिच मेधश प्रदेश सरकारले नाम र राजधानी पारित भएको खुसीमा मंगलवार प्रदेश भर सार्वजानिक विदाको घोषणा गरेको छ ।

विरगंज विरोध, मुख्यमन्त्री राउतको पुत्ला दहन
मधेस प्रदेशको राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउत पुत्ला जलाइएको छ।
मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।
आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा “मुख्यमन्त्री लालबाबु मुर्दाबादद्“, “मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन“ लगायत नारा लगाउँदै उनको पुत्ला जलाएका छन् ।पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरी बीच केहि समय तनाव पनि भएको थियो ।





