जनकपुरधाम- जनकपुरधाम स्थित खाद्य व्यवस्था व्यापार कम्पनी लि. मधेस प्रदेश कार्यालयले किसानहरुको धान खरिद गर्ने क्रम जारी रहेको छ।
नेपाल सरकारले किसानको धान खरिद गर्ने निर्णय गरे अनुसार कम्पनीले सोना मंसुली धान खरिद गरिरहेको छ ।
कार्यालयका प्रमुख उपेन्द्र लिम्बुले किसानहरु संग प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँमा धान खरिद गरिरहेको जानकारी दिए। कोरोना महामारीलाई ध्यानमा राखेर किसानहरूलाई पहिला नै कुपन प्रदान गरेर कुपनको आधारमा धान खरिद गर्ने काम गरिरहेको प्रमुख लिम्बुले बताए ।
उनले हालसम्म ९ हजार ८ सय क्विन्टल मसिनो धान खरिद गर्ने काम सम्पन्न भएको र यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको जानकारी दिए।
वास्तविक किसान भएको सम्बन्धमा स्थानीय तहले गरेको सिफारिस कागजातको आधारमा किसानलाई कम्पनीले कुपन दिएर धान खरिद गर्ने काम गरिएको कम्पनीले जनाएको छ। तर कम्पनीले विभिन्न साइजको बोरा तथा टायर गाडामा आएको धान खरिद नगरेका कारणले निम्न वर्गका किसानहरू पीडित बनेका छन् ।
ठुला किसानको नाउँमा एक्कै नाशको बोरा तथा ट्याक्टरमा आएका किसानहरूको धान खरिद गर्ने काम गरेकाले केही धानको कारोबार गर्ने व्यवसायीहरूले बिक्री गरेर किसानले पाउने लाभ पाइरहेको किसानहरूको गुनासो रहेको छ।
यता कम्पनीका कार्यालय प्रमुख लिम्बुले स्थानीय वडाले सिफारिस गरेको आधारमा किसान संग धान खरिद गर्ने गरेकोले अनियमितता भएको विषयमा कुनै सत्यता नभएकोे दाबि गरे ।
नेपाल सरकारले मोटो तथा मसिनो जातको धान खरिद गरेर किसानलाई राहत दिने लक्ष्य लिएको छ । अहिले मसिनो धान बाहिर बजारमा क्विन्टल २ हजार ५ सयमा खरिद विक्री भइरहेको छ भने सरकारले बजार मूल्य भन्दा ४ सय २ रुपैयाँ बढी दिइरहेको हुँदा किसानहरु कम्पनीलाई आफ्नो धान बेच्न खोजेका छन् ।
धानको उत्पादन लागत बढेकाले लागत उठाउन तथा किसानलाई उचित मुनाफा दिनका लागि सरकारले प्रदान गरेको अनुदानको आधारमा कम्पनीले धान खरिद गर्ने काम गरिरहेको कम्पनीका कार्यालय प्रमुख लिम्बुले बताए।




