महाेत्तरी- महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला शव र वेवारिस फेलाका दुई बालक घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् । बालकलाई वेवारिस अवस्थामा छोडेर भाग्ने र महिलाको हत्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ।
गौशला नगरपालिका १२ स्थित सगरनाथ वन परियोजनाको जंगलमा भेटिएको गर्भवती महिला शव र वेवारिस अवस्थामा सोहि क्षेत्रमा भेटिएको दुई साना बालकहरु बीच आमा छोराको सम्बन्ध रहेको खुल्न आएको छ भने महिलाको हत्या उनकै श्रीमान्ले गरेको खुलेको छ।



आफ्नै श्रीमानले नै महिलाको हत्या गरेर फरार भएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरि घटनाबारे जानकारी दिंदै महिलाको हत्या गरेको आरोपमा निजको श्रीमान् भारतको विहार राज्य सितामढी ग्राम पंचायत भासर मघहा वडा नं.७ अनारवन घर भई हाल सर्लाही मलगंवा नगरपालिका वडा नं.९ स्थित डेरा गरी बस्ने ३७ वर्षिय अजय महतो कोइरी र हत्या गर्न सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरु माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराई थप असुन्धान सुरु गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनी ले जानकारी दिएका छन् ।
यस्तो छ घटनाको नालीबेली
गौशला नगरपालिका १२ को सागरनाथ वन परियोजनाको जंगलमा फागुन ४ गते फेला परेको शव राधा भन्ने अफ्सना खातुनको रहेको प्रहरीले जनाएको छ।
भारतको सितामढी स्थित भैरबकोठी, मेहसौल टोल निवासी राधा भन्ने अफ्सना खातुनको विहे भारतको उत्तर प्रदेशमा बिबाह भएको थियो । उनको दुई छोरा पनि जन्मिएको थियो । तर २ वर्ष अगाडि उनिहरुको सम्बन्ध बिग्रिए पछि मृतकले पहिलो श्रीमानलाई छाडी २ जना बच्चा सहित आफ्नो माईतीघर भारतको सितामढी आएर बस्न थालेकि थिईन् ।
माईती आई ज्याला मजदुरी गरि आफ्नो जिवन यापन गर्दै गरेकी राधाको घर निर्माण गर्ने पेटि ठेक्काको काम गर्ने अजय महतो संग भेट भयो । उनिहरु बीच २ बर्ष अगाडी चिनजान भई सम्बन्ध स्थापित भएपछि विवाह गरेका थिए ।
बिबाह भए पश्चात राधाले आफूलाई घरमा लानुपर्ने भनि जोडबल गरेपछि अजय महतो कोईरीले आफ्नो घर लगे ।
तर अजयले राधालाई आफ्नो घर ल्याएपछि घर तथा गाँउ समाजका मानिसहरुले निज अफ्सना खातुनलाई अस्विकार गरि गाउँघरमा पञ्चायती बसि भा.रू.२५ हजार क्षतीपुर्ती स्वरूप राधालाई दिई छुट्टिने र भा.रू.२५ हजार गाउँ समाजका व्यक्तिहरूलाई भोज खुवाउने गरि सहमती भयो ।
यस्तो सहमती भएको १ हप्ता पछि राधाले उक्त सहमती नमानी पुनः अजय महत्तो कोईरीसँग बस्न आए पछि उनिहरू दुबै जना गाउँ समाजमा बस्न नसकी बिगत ९ महिना अगाडि देखि सर्लाहीको मंलगवा नपा वडा न.९ मा कोठा भाडा लिई संगै बस्दै आएका थिए ।
यसरी गरिएको थियो हत्या
मंगलवा बसाईको क्रममा राधा करिव ८–९ महिनाको गर्भवती भएपछि श्रीमान अजय महतो कोईरीलाई आर्थिक रुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने, बच्चा जन्मिएपछि अंश र अधिकार जसरी पनि लिन्छु भनि मानसिक तनाव दिने, अंश र अधिकार नदिए बलात्कारको मुद्दामा फसाउने भनि धाक धम्की दिई लगातार बार्गेनिङ गर्ने गरेको महतोले आफ्नो बयानमा प्रहरीलाई जनाएको छ।
यसरी राधाले यसरी तनाव दिएपछि फागुन २ गते अजय महत्तो र निजसँगै काम गर्ने अर्को एक जना पुरूष व्यक्ति सर्लाही मलंगवा ९ मा बस्ने प्रमोद राउतको निर्माणाधिन घरमा काम गर्ने क्रममा प्रमोद राउत समेत सँगै हुँदा आफूलाई आफ्नो श्रीमती राधा भन्ने अफ्सना खातुनले साह्रै तनाव दिएको, आफ्नो घर परिवार समेत भाँडिएको, नेपालमा काम गरि बस्दा समेत आर्थिक रूपमा कुनै उन्नती गर्न नसकेको र यो सबैको कारण राधा भन्ने अफ्सना खातुन रहेको भनि बताए र छुट्काराको लागि सल्लाह मागेका थिए । अनि प्रमोद राउत र सँगै काम गर्ने साथिले राधालाई हत्या गरि लाश जंगलमा फालि दिए समस्या समाधान हुन्छ भनि सल्लाह दिए पछि तीनै जना मिलेर राधाको हत्या गरि जंगलमा फाल्ने योजना बनाए ।
योजना अनुसार फागुन ३ गते दिउँसो २ राधालाई मेला हेर्न जाने भनि श्रीमान अजय महत्तो कोईरी र हाल फरार रहेका अर्का व्यक्ति समेतले विश्वास दिलाई मलंगवाबाट रू.१६ सयमा टेम्पो रिजर्भ गरी श्रीमान–श्रीमती, दुई नाबालक छोराहरू र अर्का एक जना पुरूष व्यक्ति एउटै टेम्पुमा बसी सर्लाहीको ईश्वारपुर न.पा.१३ श्रीनगर चोकसम्म आएर त्यहाँबाट टेम्पु फिर्ता पठाए। त्यहाँबाट प्रमोद राउतले आफ्नो प्रदेश २–०२–००२ प ७९५७ नम्वरको मोटरसाईकलमा २ पटक गरि सबै जनालाई पालैपालो बांके खोलाको ड्याम हुँदै महोत्तरीको गौशला नपा १२ को निर्माणाधिन रेल्वे ट्रयाकमा पु¥याए।
अजय महतो कोईरी र अर्का पुरूष व्यक्तिले राधालाई रेल्वे ट्रयाक भन्दा २०० मिटर जती पश्चिम सागरनाथ वन परियोजनाको जंगल भित्र लगे भने प्रमोद राउतले मोटरसाईकलमा २ बच्चाहरुलाई त्यहाँ भन्दा १.५ कि.मी. दक्षिण कान्तिबजार बिषहराथान नजिक रहेका स्थानीय दिलबहादुर योञ्जनको श्रीमती मैया कुमारी योञ्जनले संचालन गरेको चिया नास्ताको कटघेरा होटलमा पु¥याई मेरो बच्चा हेरिदिनुस, म चाउचाउ लिई आउँछु भनि छाडि हिडे।
यता अजय महत्तो कोईरी र अर्का पुरूष व्यक्तिले राधालाई जंगलमा लगि पछाडीबाट घाँटीमा सलले तिन फन्को बाँधी कसेर लडाई कञ्चट र अनुहारमा जोडले लातले हानी छातीमा समेत बेस्सरी थिची हत्या गरि १० मिटर पर जंगलको झाडी नजिकै फालि दिए । त्यहाँबाट उनिहरु करिब २०० मिटर पूर्व हिडेपछि सडकको चोकमा प्रमोद राउतलाई भेटे र तीनै जना प्रमोद राउतको मोटरसाईकलमा बसेर महोत्तरीको लक्ष्मिनीयाँ चोक पूर्व–पश्चिम लोकमार्ग हुँदै सर्लाहीको फुलजोर श्रीनगर हुँदै पुनः मलगंवा तर्फ फर्के ।
यसरी पक्राउ परे हत्याराहरु
फागुन ४ गते गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार स्थित सागरनाथ बन बिकाश परियोजनाको जंगल भित्र निर्माणाधिन रेल्वे ट्रयाक भन्दा ५६१ फिट दक्षिण करिब २७ वर्षीय मधेसी मुलकी महिलाको मृत शव फेला पर्यो ।
४ फिट ९ ईञ्च उचाई भएकी, ठूलो पेट रही गर्भवती जस्ती देखिने, सेतो सुरुवाल, सेतो जालीदार कुर्था, पिंक कलरको उनीको स्वीटर, कालो सेण्डल चप्पल लगाएकी नामथर वतन नखुलेको महिलाको मृत शव घाँटीमा रातो गम्छाले ३ फेरो कसी, नाक मुखबाट अत्याधिक रक्तश्राव भई रक्ताम्य अबस्थामा देखेपछी प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।
प्रहरीले लासको प्रकृति मुचुल्का गरी शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाए।
त्यसको एक दिन अघि २ फागुनमा बेवारिसे अवस्थामा सोहि क्षेत्रमा एक ४ वर्ष र अर्का २ वर्षका फेला परेका दुई बच्चाहरु प्रहरीलाई अनुसन्धान गर्न सहज बनायो । एक दिन अघि बेवारिसे अबस्थामा भेटिएको नाबालक बच्चाहरु र मृत अबस्थामा फेला परेको मृत महिला बिच सम्बन्ध रहेको हुन सक्ने आधारमा बच्चाहरु संग कुराकानी गर्दा अलिक ठूलो बच्चा आफ्नो नाम रामु र भाईको नाम श्यामु रहेको बताए। अनि मृतक महिलाको फोटो देखाउँदा बर्ष ४ को रामु नाम बताउने बालकले मृतक आफ्नो मम्मी रहेको भनि बताए पछि प्रहरीले यस कोणबाट पनि अनुसन्धान सुरु गरे । अनि फेरि बोल्न सक्ने बच्चालाई बुवाको नाम सोध्दा अजय महतो बताएपछि प्रहरीले त्यसलाई पनि आधार बनायो ।
जिल्ला र प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो । घटना अनुसन्धानको लागी २ न.प्रदेश (मधेस प्रदेश)प्रहरी कार्यालय जनकपुरसँगको समन्वयमा कुकुर समेतको प्रयोग गरियो ।
इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र मधेस प्रदेशका प्रहरीले समेत निक्कै चासो देखाएर घटनालाई सूक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका अजय महतो कोइरी समक्ष नै मोडियो ।
५ दिनको अथक प्रयास र अनुसन्धान पछि भारतिय प्रहरीको समेत सहयोग नेपाल प्रहरीले हत्याको आरोपित अजय महतोलाई सर्लाहीको नेपाल भारत सिमानाबाट फागुन ६ गते साँझ र प्रमोद राउतलाई मलंगवाबाट ७ गते पक्राउ गर्न सफल भए भने हत्यामा सग्लन अर्का एक जना अझै फरार छन् ।
पक्राउ परेका दुवै आरोपीहरु माथि “कर्तव्य ज्यान“ शिर्षकमा महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई ईलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीबाट थप अनुसन्धान भई रहेको एसपी पंगेनीले जनाए ।
अहिले कहाँ छन् फेला परेका वेवारिसे बच्चाहरु ?
फागुन ३ गते बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको चिया नास्ता पसलमा २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।
उनिहरु पहिलो मृतक महिलाको श्रीमानवाट जन्मेका बच्चा हुन ।बच्चाहरुलाई अहिले जनकपुरधाम स्थित बालबालिकाको क्षेत्र काम गर्ने संस्था शिविनको सेफ हाउसमा राखिएको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
उनले मृतक महिलाको माईतीको ठेगाना खुली सकेको हुँदा माईती घरको मानिसहरु पत्ता लगाई जिम्मा लगाउने तयारी भईरहेको जनाए ।
एसपी पंगेनीको अनुसार हत्यामा सहयोग गर्ने पक्राउ परेका प्रमोद राउतले बच्चाहरुलाई मार्नु हुँदैन भनेर आफूले अन्तै छोडेर आएको हुँदा बच्चाहरुको ज्यान जोगिएको बयान दिएका छन् ।
यो पनि पढ्नुहोस्
गौशाला महिला हत्या प्रकरण : मंगलबार भेटिएको दुई बच्चा महिलाकै रहेको आंशका
https://shirishnews.com/banner-news/13427.html/
https://shirishnews.com/banner-news/13489.html/
(भिडियो )
https://www.facebook.com/shirishonline1/videos/482812963245011
https://www.facebook.com/shirishonline1/videos/468162805044513
https://www.facebook.com/watch/?ref=external&v=729323481387199




