महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विषयको विवाद साम्य भएको छ । नगरपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेबारीमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विनोद कुमार मण्डललाई काज सरुवा गरेर पठाएपछि विवाद साम्य भएको हो ।
नेपाल कृषि सेवा अन्तर्गतका द्वितीय समूह बरिष्ठ बालि विकास अधिकृत मण्डल आइतबार कार्यालयमा हाजिर भएका हुन् । उनलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गराएको मेयर अशोक कुमार मण्डलले बताए ।
उनलाई समान्य प्रशासन मन्त्रालयले गएको फागुन ९ गते रामगोपालपुर नगरपालिकामा आर्थिक तथा प्रशासनिक कामकाजको जिम्मेबारीसहितको काज सरुवा गरेको थियो ।
यसअघि नगरपालिकाका शिक्षा शाखाका अधिकृत धिरेन्द्रलाल कर्ण र प्रशासन तफर्का प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डल दुवैले प्रमुख पशासकीय अधिकृतमा दावी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । जसका कारण त्यहाँ दुई पक्षबीच दैनिक तनाव र मुठभेडकै अवस्था सिर्जना हुने गरेको थियो ।
एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा शाखा अधिकृत कर्णले सम्हालिरहेका थिए । स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासनतर्फका कर्मचारी हुन् ।
जिम्मेवारीमा रहँदा उनले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगउँदै मेयर अशोककुमार मण्डलले उनको जिम्मेबारी खोसेको थियो । मेयर मण्डलकै पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २५ गते कर्णलाई दिएको जिम्मेवारी खोस्दै उनको स्थानमा शिवेन्द्रकुमार मण्डललाई पठाएपछि विवाद चुलिएको थियो ।
गएको माघ १४ गते पुनः समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र मण्डललाई महोत्तरीकै लोहारपट्टी नगरपालिकामा काज सरुवा गरेको थियो भने कर्णलाई आर्थिक तथा प्रशासनिक कार्यभार सम्हाल्न जिम्मेबारी दिएको थियो । तर, मेयर मण्डल मानेका थिएनन् ।
उनले पुनः पहल गरेर समान्य प्रशासन मन्त्रालयबाट आर्थिक तथा प्रशासनिक जिम्मेबारी हेर्ने गरी विनोद कुमार मण्डललाई सरुवा गराई नगरपालिकामा हाजिरी गराएका हुन् । मण्डलसंगै यस नगरपालिकामा लेखापालको रुपमा सुभास कुमार साह पनि हाजिर भएका छन् ।
अव विकास द्रुत गतिमा अगाडी बढ्ने मेयर मण्डलले दावी गरेका छन् ।