सुजाता राई
विराटनगर ।नोवेल पुरस्कार विजेता विश्व प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरको गिजाञ्जली र कठोपनिषद् कृतिहरूको नेपाली अनुवाद प्रा डा मेदिनीप्रसाद शर्माज्यूले गर्नुभएको छ । यी दुवै कृतिहरूको लोकार्पण कार्यक्रम खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा २०८२ साल जेठ १७ गते विराटनगरमा सम्पन्न भयो ।
खोटाङ सामाजिक सेवा मञ्चको भाषा साहित्य कला उन्नयन उपसिमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षता र बरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ गङ्गा सुवेदी अग्रज साहित्यकार कविराज न्यौपाने प्रा कृष्णप्रसाद पोखरेल प्रा डा मिनराज ढकाल प्रा डा हरिहर भण्डारी प्राज्ञ खेम नेपाली लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
लोकार्पित कृतिहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै विद्वान व्यक्तित्व विपुलेन्द्र चक्रवर्ती र प्रा डा चक्रपाणी खनालले विश्व साहित्यसँग नेपाली साहित्यले पनि नतिजाउन्मुख रुपमा घुलमिल हुन यस किसिमका अनुवाद साहित्यले सहयोग पुर्याउँछ भन्दै विश्व प्रसिद्ध कृतिहरूको नेपाली अनुवाद तथा रुपान्तरण हुनु निकै गहन कार्य भएको बताउनु भयो ।
नेपाली पाठकहरूका लागि यी दुवै कृतिहरु सरल रुपमा प्राप्त हुन आउनु महत्त्वपूर्ण पक्ष भएको हुँदा शुभकामना मन्तव्य राख्नु हुने महानुभावहरूले अनुवादक प्रा डा मेदिनीप्रसाद शर्माप्रति धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घोषण लक्ष्मी पोखरेलले गरेकी थिइन् भने स्वागत मन्तव्य नानुमैया दाहालको रहेको थियो ।




