महोत्तरी – सुनसरीमा हिन्दु युवामाथि भएको गोली प्रहारको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वरमा विभिन्न हिन्दुवादी संघ–संगठनले आज प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले जलेश्वर बजार क्षेत्रमा टायर बालेर विरोध जनाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कडा कारबाही तथा गृहमन्त्री सुदन गुरुङको राजीनामाको माग गरेका छन्।



प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै शान्ति–सुरक्षा प्रभावकारी रूपमा कायम गर्न र घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए। साथै, पीडितलाई न्याय दिलाउन तथा यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ थियो।
प्रदर्शनकारीहरूले सरकारले आफ्ना मागप्रति आवश्यक ध्यान नदिए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।





