जनकपुरधाम - नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको क्रममा बाँकी रहेको धनुषाको जिल्ला अधिवेशन अन्तर्गत नेतृत्वका लागि आज निर्वाचन भइरहेको छ ।
नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । ३ हजार १९७ मतदाता रहेका धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कडा सुरक्षाका बीचमा जिल्ला अधिवेशन अन्तर्गत मतदान कार्यक्रम तीन घण्टा ढिलो गरी सुरु भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । ढिला सुरु भएको मतदान प्रकृया राति ९-१० बजे सम्म चल्ने बताइएको छ । मतदानका लागि जनकपुरधामको तिरहुतिया गाछीमा विशेष व्यवस्था मिलाइएको छ । धनुषाको ४ निर्वाचन क्षेत्र रहेकोमा प्रत्येक क्षेत्रका लागि फरक फरक बुथको व्यवस्थापन गरिएको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापति पदका लागि पार्टीका वर्तमान कार्यसमितिका उपसभापति सन्तोष यादव, ३ पटक क्षेत्र नंं ४ को क्षेत्रिय सभापति भई सकेका क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियार र धनुषा निर्वाचन क्षेत्र नंं १ का पूर्व सांसद दिनेश प्रसैलाले उम्मेदवारी दिएका छन् । तीनै जनाले प्यानलमा नै उम्मेदवारी दिएका छन् ।
मतदान सकेपछि आजै राती देखि मतगणना हुने नेपाली काँग्रेस धनुषाले जनाएको छ ।
नेपाली काँग्रेसको संस्थापन पक्षका दुई जना उम्मेदवार रहेका छन् भने कोइराला पक्षका एक जना उम्मेदवार रहेका छन् । तर तीनै जनाको बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।