जनकपुरधाम – संघीय सांसद तथा जनता समाजवादी पार्टीका नेता प्रमोद साहमाथि सर्लाहीको बयलवासमा भएकाे आक्रमण घटना प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलबासका दुई जना रहेका छन् । यद्यपी उनीहरुको नाम अहिले प्रहरीले गोप्य राखेको छ।



घटना विषयमा अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए ।
शनिबार बिहान सडक विस्तारको क्रममा फुलजोर युवा क्लबको घर राख्ने की सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । सोही क्रममा सांसद साहमाथि आक्रमण भएको थियो ।
घाइते भएका सांसद साहलाई शनिबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।
घटना पश्चात जनता समाजवादी पार्टीले नेकपा एमालेका कार्यकर्ताहरुले सांसद साहमाथि आक्रमण गरेको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गरेको थियो ।
आइतवार गृहमन्त्री बालकृष्ण खाँण अस्पतालमा पुगेर घाइते सांसद साहको स्वास्थ्य अवस्थाबारे जनकारी लिँदै घटनाको छानबिन र दोषीमाथि कारबाही गर्ने बताएका थिए।




