
मेरो गाउंमा एक सम्पन्न परिवारको घरमा निम्न आय भएका एक दम्पति काम गर्न बस्दथे। भुजेल दम्पती जस्लाई हामी केटाकेटीमा काका काकी भन्थ्यौं। उनीहरुका पहिल्यै चार जना बच्चाहरु थिए र पाँचौ सन्तानको जन्मिएकी छोरीलाई काकीले कुलोमा लुगा धुन जाँदा त्यही जन्माईन जस्को नाम राखियो "कुली"।
गाउँका सम्पन्न परिवारको घरमा गाई चराउँदै, दाउरा काटदै र घरका सारा काम गर्दै त्यो परिवारको जीवन वित्यो र उनका पाँच वालवच्चाहरू कुकुरका छाउरा छाउरी छरपष्ट भएर बाँडिए झैँ बाँडिए। ति अहिले कहाँ कहाँ छन केही थाहा भएन तर जब जब चुनाव आउँथ्यो भूजेल काका र भूजेलनी काकीलाई नमस्कार गर्नेहरुको लस्कर हुन्थ्यो र चुनाव सकिए पछि फेरी उस्तै जिन्दगी। म सोच्ने गर्दछु आखिर भूजेल काका भूजेलनी काकी संगै कुली छोरीको लागि चुनावको अर्थ के?
आज पनि भुजेल परिवार जस्तै तराई देखि पहाड़ अनि हिमालसम्म थुप्रै परिवारहरु छन जस्को जीवनको उद्देश्य नै दुई छाक खाने र एक धरो लगाउने अनि रातीमा छाप्रोमा निदाउन भन्दा बाहेक केही छैन तर त्यति कुरा पनि त्यो परिवारले पाएका छैनन फेरी तिनले भोट किन हाल्छन्? फेरी त्यस्ता परिवार संग कोही भोट माग्न जान्छन? किन भोट दिने? भोट दिने र भोट माग्ने बिचको सम्भौता के हो? सम्झौता पुरा भएको नभएको छुट्याउने आधार के हो? यदि सम्झौता पुरा भएको छैन भने त्यो कुली जस्ता परिवारले त्यो झुठा कुराहरु बोल्ने राजनैतिक दल वा व्यक्तिलाई फेरी भोट [दिन हुन्छ या हुँदैन? यदी फेरी पनि दिन्छन् र झुक्किन्छन् भने यहाँ दोष कस्को हो? भोट माग्न आउनेको कि भोट दिनेको ?
म कुलीका आमा बुवा जस्ता लाखौं परिवार प्रति सवदनशील हुन्छु तर सहानुभूति बाहेक केही दिन र गर्न सक्दिन किन की यसका लागि आवश्यक श्रोत, साधन, अधिकार र शक्ति चाहिने रहेछ जुन कुरा राज्य संग छ। म राज्य होइन। म जस्तै देशमा त्यस्ता परिवारहरुको कल्याणका बारेमा सोच्ने लाखौं साथीहरु हुनुहुन्छ जो वहाँहरू पनि केवल व्यक्ति हुनुहुन्छ। राज्य होइन। व्यक्ति आफैंलाई आफनै जीवन चलाउन र घर व्यवहार धान्न कठिन छ तर पनि असल मनका हजारौं लाखौं नेपाली छौं जो विद्यमान परिस्थिति संग सन्तुष्ठ छैनौंर गाउँमा गरिबलाई गाउँका धनी गाउँका धनीलाई शहरका धनी, शहरका धनीलाई देशका धनी, देशका धनीलाई एशियाका धनी वा अन्तराष्ट्रिय धनी बनाउन चाहान्छौं। जहाँ भूजेल काकाको परिवारले जस्तो गरिबी र अभावको जीवन समाप्त होस। यो स्थानमा भूजेल काका काकीले गर्ने काम गर्नका लागि विदेशीका गरिवहरु नेपाल आउन। तर यो पवित्र उद्देश्य तब मात्र पूरा हुन सक्छ जब पवित्र मनका नेपाली राजनीतिमा आएर स्थानीय तह देखि केन्द्रीय तह सम्म साशन गर्न र नीति निर्माण गर्ने तहमा पुग्छौँ।
फेरि चुनाव आउँदै छ। एउटा वर्ग २००७ साल देखि नै नेपाली राजनीतिमा छ। जसले यो विश्वास गर्न थालेका छन् की राजनीति उनीहरूको परिणाम दलको पेवा हो। त्यो एक व्यवसाय हो। उनीहरू स्थानीय देखि केन्द्रीय तह सम्मको साशन कब्जा गर्न चाहन्छन् र यसको जस्तो सुकै अपवित्र गठबन्धन बनाउन पनि तयार हुन्छन्। उनीहरू संग कुलीका आमा बुबा जस्ता परिवारका लागि केवल बाँडने सपना धेरै छन् तर उद्देश्य साशन कब्जा गर्ने श्रोत कब्जा गर्ने र त्यो श्रोत बाट अझै अरू लामो समय सम्म साशन र सत्तामा बसी रहौं नै हो।
तर के त्यस्ता गरिव परिवारले यो कुरा बुझ्न सकेका छन् त? यदि बुझेका भए तिनै अनुहार र दलहरू निरन्तर भूजेल काकाको परिवार भोटबाट साशनमा कसरी पुगी रहेका छन् त? यसमा दोष कसको? यहाँ निर भुजेल काकाको परिवार दोषी हुन् जसले आफ्नो भोट आफ्नो जीवन उत्थानका लागि हो भन्ने बुझ्न सकेनन् वा दोष भोट माग्ने को हो जसका लागि काकाको परिवार केवल उनीहरूको दास हुन् भोट हाल्ने।
म आफु पनि एक यो देशको राजनीतिको नाममा भएको सशस्त्र द्वन्द्वको पिडीत परिवार हुँ। जुन बेला म २१ वर्षको उमेरमा प्रवेश गरेकी थिएँ त्यही बेलामा प्रहरी सेवामा रहेका मेरा पति गुमाएँ। मेरो लागि दुई सन्तान हुर्काएर बाँच्न कम कठिन थिएन तर पनि यो कठिनाइ परिस्थिति बिच मेरो सम्बन्ध अरू कठिनाइमा परेका परिवारहरू संग हुन थाल्यो। यदि मेरा पति जीवित हुनु हुन्थ्यो भने सायद म वहाँको कमाइ तलव खान र सुविधा कै घेराभित्र छोराछोरीको हेर बिचार गर्न नै सिमित रहन्थें होला। तर मेरा पतिको बिछोडले मलाई यो समाजमा कसरी बाँच्ने भनेर बाँच्न र संघर्ष गर्न बाध्य बनायो। यही बाच्ने क्रममा संघर्ष गर्दा मैले यो देशमा मान्छे मात्र होइन प्रकृति र संस्कृति समेत संकटमा परेको देखें।
देश आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रूपले गम्भीर संकटमा छ र यही संकट बिच बिदेशी हरू पनि नेपालमा विभिन्न खेल खेल्दै छन्। यसलाई पूरातन सोच र पटक पटक असफल अनुहार बोकेका राजनीतिक दलहरूले जोगाउन सक्दैनन्।
हामीहरू जस्ता असल मन र उच्च तहका मानिसहरू अब स्थानीय तह देखि प्रदेश र केन्द्रीय तह सम्मको राजनीतिमा पुग्नु पर्छ। प्रत्येकले आफ्नो भोट आफ्ना नजिकका गरिब, दु:खीहरूको जीवन उत्थान लाई मध्यनजर राखी हाल्नुपर्नेछ। पूरातन सोचका घमन्डी हरूलाई परास्त गरी एउटा नयाँ टिम सरकार संचालनमा ल्याउनु छ। यो काम गर्न सकिन्छ ।यो हाम्रो हातमा छ। यसका प्रेरणाका श्रोत नजिकै रहेका गरिब दु:खी परिवारहरू बाटै पाइन्छ। मेरा लागि भुजेल काकाको परिवार राजनीतिमा आउने प्रेरणा बन्ने रहेका छन्।