काठमाडौं – मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले एमालेकै नेताहरूको इसारमा आफ्नो चरित्र हत्या गरिएको दाबी गरेका छन्।
पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूलाई एमाले नेता रघुवीर महासेठले एमालेका कार्यकर्ताहरू पठाएर आफ्नो बदनाम गराएको दाबी गरे।
‘म तीन दिनअघि इदको शुभकामना आदान प्रदान कार्यक्रममा मंगलबार जनकपुर पुगेको थिएँ र त्यहाँको होटेलमा बासेको थिएँ’ उनले भने ‘त्यहाँ बसेर मैले आफू फर्किने जहाज कुरिरहेका बेलामा केही मानिसहरू आएर होटेल बाहिर होहल्ला गर्न थालेपछि आफूले प्रहरीलाई खबर गरेको हुँ। अनि उहाँहरूले मलाई एयरपोर्ट पुर्याइदिनुभयो।’



उनका अनुसार एक दिनअघि रघुवीर महासेठले आफ्नो घरमा बोलाएका थिए। तर उनी त्यहाँ गएनन्। त्यसपछि फेरि महासेठले अरू मान्छे पठाएर उनलाई बोलाउन पठाएका थिए।
‘अनि मैले म कसैको दास र गुलाम होइन। म आफ्नो कामले आएको हुँ। कसैको घर जाँदैन भनेको थिएँ’ उनले भने ‘त्यहाँका एमालेका नगरअध्यक्ष सुरेन्द्र भन्डारीले नै मलाई भनेका हुन्, जुली महतो र रघुवीर महासेठले पठाउनु भएको भनेर स्विकारिसक्नुभएको छ।’
एमालेकै सिफारिसमा मुस्लिम आयोगको अध्यक्ष भएपछि उनले एमालेको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए।
‘म एमालेकै कार्यकर्ता थिएँ। एमालेकै सिफारिसमा म संवैधानिक आयोगमा अध्यक्ष भएँ। त्यही बेला मैले एमालेको साधारण सदस्यतासमेत नरहनेगरी राजिनामा दिएर मुस्लिम आयोगको अध्यक्ष भएँ’ उनले भने ‘मैले यदि त्यस्तो गलत काम गरेको थिएँ भने अरू पार्टीले पो मलाई घेर्नुपर्ने थियो। म दोषीमाथि कारबाहीको लागि अपिल गर्दछु।’
“दुःख का साथ भन्नुपर्छ। नेकपा एमालेका नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो,” अन्सारीले पत्रकार सम्मेलनमा भने। एमाेलका नेताद्वय जुली महतो र रघुवीर महासेठले आफूविरुद्ध नाराबाजी गर्न कार्यकर्ताहरू पठाएका उनले आरोप लगाए।
मौन अविधिमा होटलमा बसेर पैसा बाँडेको आरोप लागेका राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफू आफ्ना समुदाय भेट्न जनकपुर गएको बताएका छन्।
स्थानीय तह निर्वाचनको अघिल्लो दिन मौन अवधिका बेलामा जनकपुरमा पैसा बाँडेको आरोपमा उनलाई नेकपा एमालेका कार्यकर्ताले होटलमा घेराउ गरेका थिए।
आफूले गलत काम गरे पनि कांग्रेस लगायत दलले गर्नुपर्ने भए पनि एमालेबाटै यस्तो भएको भन्दै उनले दुःख व्यक्त गरे।
उनले भने, “हिजो म एमालेबाटै सिफारिस भएर म यहाँ आइपुगेको हुँ, तर म आज एमालेबाट यस्तो भयो, मिडियाबाट म आग्रह गर्छु। ममाथि अपमान भयो। आरोप लाग्नु एउटा पाटो हो। प्रमाणित हुनु अर्को पाटो हो। हिजो पनि आरोप लाग्यो। त्यतिबेला म गलत भएको म तपाईंहरूको सामु आँखा आँखा जुधाएर हेर्ने अवस्था हुँदैन।”
अन्सारीलाई पछि प्रहरीले स्कर्टिङ गरी विमानस्थलसम्म पुर्याएको थियो।
तर एमाले जनकपुरधाम उपमहानगर समितिले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पार्टीकै मेयर पदका उम्मेदवारलाई पैसा बाँडेको आरोप लगाएको छ।
जनकपुरधामस्थित सीताशरण होटलमा बसेर अध्यक्ष अन्सारीले पार्टीका उम्मेदवार शिवशंकर साहलाई पराजित गराउन पैसा बाँडेको नगरसमितिका अध्यक्ष सुरेन्द्र भण्डारीले आरोप लगाएका हुन्।
भण्डारीकाअनुसार दुई दिनदेखि होटलमा बसिरहेका अन्सारीले पार्टीका उम्मेदवारलाई पराजित गरी स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई निर्वाचित गराउन पैसा बाँडेका छन्। उपमहानगर समितिका अध्यक्ष भण्डारीसहित एमाले कार्यकर्ता होटलमा पुगेर अन्सारी विरूद्ध नाराबाजी गर्दै हो–हल्ला गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रमुख जिल्ला अधिकारी सहित होटल पुगेका प्रहरीले अन्सारीलाई उद्धार गरेर विमानस्थल पुर्याएको थियो। अन्सारी काठमाडौं फर्किएका छन्।
‘उहाँ हाम्रै पार्टीका तर्फबाट मुस्लिम आयोगको अध्यक्ष बन्नु भएको हो। हिजोदेखि सीताशरण होटलमा बसेर मुस्लिम अगुवालाई बोलाएर पार्टीका उम्मेदवारलाई पराजित गराउन पैसा बाँडिरहनुभएको थियो,’ भण्डारीले भने,‘पैसा बाँडेको कुरा हाम्रो नोटिसमा आएपछि त्यहाँ पुगेर यो काम बन्द गर्न उहाँलाई भनेका थियौं।’
अध्यक्ष अन्सारीले जनकपुरधामका मुस्लि अगुवाहरूलाई भेटेर पार्टीका उम्मेदवार साहलाई पराजित गराउन पैसा बाँडेको प्रमाण आफूहरूसँग रहेको दाबी गरेका छन्। ‘दुई दिनभित्र उहाँले क–कसलाई भेट्नुभयो सबै प्रमाण हामीसँग सुरक्षित छ, होटलको सिसिटिभी फुटेजबाटै हेर्न सकिन्छ,’ भण्डारीले भने,‘स्वतन्त्र उम्मेदवार जानकी राम साहसँग आज पनि उहाँको होटलमा भेटघाट भएको छ। जानकीराम साह ब्याग लिएर होटल पुगेको फुटेजमै हेर्न सकिन्छ।’
अन्सारीको विरोध गरेपछि प्रहरीले आफुलाई एक घण्टा कस्टडीमा राखेर छाडेको भण्डारीले बताए।
धनुषाका प्रहरी प्रमुख बसन्त रजौरेले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाइए पनि उनको साथबाट पैसा बरामद नभएको बताए।
‘होटलमा सर्च गर्दा पैसा बरामद भएको छैन, हामीले उहाँलाई पक्राउ पनि गरेको होइन,’ रजौरेले भने,‘होटलबाट उद्धार गरेर विमानस्थलसम्म पुर्याइदिएका हौं। उहाँ काठमाडौं जानुभएको छ।’ स्वतन्त्र उम्मेदवार जानकीराम साह मेयरको टिकट पाउने आश्वासनमा केही दिनअघि एमाले प्रवेश गरेका थिए। तर, एमाले भने शिवशंकर साहलाई जनकपुरधाम उपमहानगरमा मेयरको उम्मेदवार बनाएको छ।





