जनकपुरधाम- महोत्तरीकाे मठिहानी नगरपालिकाको मेयरमा हरि प्रसाद मण्डल पुन: दाेश्रो कार्यकालका लागि विजयी भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको तर्फबाट उम्मेदवारी दिएका मण्डल फराकिलो मतान्तरले विजयी भएका हुन्।
निर्वाचन अधिकृत कुलवहादुर फेडराका अनुसार मण्डलले ४ हजार ३ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)नेपालका मोहम्मद मजिवुल रहमानले २ हजार ६७४ मत ल्याएका छन् ।
मण्डल १ हजार ३ सय २९ मतान्तरले विजयी भएका हुन ।
त्यस्तै उपमेयरमा लोसपा नेपालकी मंजुदेवी ३ हजार ८ सय ६४ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्दी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत ल्याएकी हुन ।
उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मंजु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताएको छ ।
काम गर्दा जनताले मुल्यांकन गर्छन् : मेयर मण्डल
दोश्रो कार्यकालका लागि पुन: निर्वाचित भएपछि मेयर मण्डलले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘ काम गर्दा जनताले मुल्यांकन गर्छन् भन्ने विश्वास थियो । जुन आज भोट गरेर जनताले प्रत्यक्ष रुपमा देखाएको छ ।’
उनले भने, ‘मलाई विश्वास गरी पुन: मत दिएर विजयी बनाएका मिठिहानीका जनता प्रति आभार व्यक्त गर्दछु । शुभचिन्तक, पार्टीका कार्यकर्ता, नेताहरुलाई धन्यवाद दिन्छु । उहाँहरुले मलाई सहयोग गरेर मेरो जित सुनिश्चित बनाइदिनुभयो’, मेयर मण्डल भन्छन्, ‘मलाई विश्वास थियो कि मैले पहिलो कार्यकालमा नेतृत्व गर्दा यहाँका जनताका लागि काम सबै क्षेत्रमा काम गरेको छु । निश्चित रुपमा जनताले दोस्रो पटक पनि मौका दिनुहुन्छ । म यसमा सफल भएँ ।’
मण्डलको पृष्ठभूमि पत्रकारीता हाे । उनि तीन कार्यकाल नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकाे अध्यक्ष भएर चलाइ सकेका छन् । उनकै कार्यकालमा महोत्तरीको महासंघको भवन निर्माण भएकाे हाे।


