जनकपुरधाम। सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा बहुजन एकता पार्टी नेपालकी शर्मिलाकुमारी राम विजयी भएकी छिन्। ३२ बर्सिया उनी दलित महिला हुन्।
निर्वाचित शर्मिलाले ६०६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ५४ वर्षीय सत्यनारायण सिंहले ३३३ मत मात्र पाए। उनीसँगै माओवादीबाट प्रत्याशी रहेका ७३ वर्षीय रामजतन महतोले ३३१ मत मात्र पाए। वडाध्यक्षमा निर्वाचित शर्मिला इलाका प्रशासन कार्यालय बरहथवामा प्रमुख (प्रशासकीय अधिकृत) को जिम्मेवारीमा रहेका राम नरेश रामकी श्रीमती हुन्।



शर्मिलाले जितेसँगै स्थानीय तहमा सहभागी भएको बहुजन एकता पार्टी नेपालले सर्लाहीमा वडाध्यक्षतर्फ एक मात्र विजेता हुन सफल भएका हुन्। शर्मिला नयाँ राजनैतिक दलबाट पहिलो पटक राजनीतिमा पाइला टेकेर प्रत्याशी बन्दै आफूभन्दा निकै पाका उमेरका पुराना राजनीतिज्ञहरूलाई पछाडि पारेर वडाध्यक्षमा बाजी मारेकी हुन्।





