जनकपुरधाम – नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले विकास निर्माणको काममा कसैले राजनीति नगरि साझा विषय बनाउनु पर्ने बताएका छन्। निधिले जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रमको आज उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनले जनकपुरधामको विकास निर्माणमा सबै निर्वाचित प्रतिनिधिहरू मिलेर काम गर्नुपर्ने बताए ।
उनले जनकपुरधाम ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक नगर भएकाले यस ठाउँको विकासका लागि भारतको ठुला सहरसँगै नेपालको सोलुखुम्बुको लुक्ला, भिमेश्वर महादेव स्थानसँग सडक सञ्जालसँग जोड्नका लागि गृहकार्य गर्न नव निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्दै यसमा नेपाली काँग्रेस नेतृत्वको सरकारको पूर्ण साथ रहने बताए।



नेता निधिले नेपाली काँग्रेस छाडेर विभिन्न दलहरूमा गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः मातृ पार्टी काँग्रेसमा फर्किनका लागि आग्रह समेत गरे। उनले जनकपुरधामको विकासका लागि सरसफाइका लागि ल्याण्डफिल साइटको निर्माण तथा चक्रपथको निर्माण ध्यान दिनका लागि आग्रह गर्दै जनकपुरधाम प्रदेशको स्थायी राजधानी भएकाले यसको क्षेत्रफल विस्तार वैज्ञानिक तरिकाले गर्नका लागि सुझाव दिए। मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जनकपुरधामको विकास तथा सौन्दर्यीकरणको काममा प्रदेश सरकारको पूर्ण साथ एवं सहयोग रहने बताए।
नव निर्वाचित नगरप्रमुख मनोज कुमार साहले नगरपालिकाको थप विकासका लागि व्यवस्थित ल्याण्डफिल साइटको निर्माण, बाह्य चक्रपथको निर्माण तथा जनकपुरधामलाई भौतिक रुपमा सुविधा सम्पन्न राजधानी बनाउने उद्देश्यका साथ कामकाज गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगरप्रमुख साहले अहिले जनतामाथि थुपारेको ५ सय गुणा बढीको करको प्रतिशत घटाएर जनतालाई थप बोझ नपर्ने गरी करको दायरामा ल्याउनु पर्ने उपमहानगरको आम्दानी दुई वर्षमा दुई गुणाले वृद्धि गर्ने बताए। कार्यक्रममा नव निर्वाचित उपमेयर किशोरी साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय नगरको विकास आम जनताको चाहना अनुसार हुने बताए। शपथ ग्रहण कार्यक्रममा नगरप्रमुख साहले उपप्रमुख किशोरी साहसहित विभिन्न वडाका अध्यक्षहरूलाई शपथ ग्रहण गराएका थिए।




