जनकपुरधाम । मधेश प्रदेशका सांसद विन्देश्वर यादव ‘विक्की’ले नेपाल–भारतबीचको कोशी सम्झौता रद्द गर्न माग गरेका छन् ।
बुधबार प्रदेशसभा बैठकमा सांसद यादवले सम्झौता अनुसार भारत सरकारले काम नगरेको हुनाले सम्झौता रद्द गर्नु पर्ने माग गरेका हुन् । सहजताको लागि गरिएको सम्झौताले नेपाली जनतालाई दिनहँु समस्या हुने गरेको उनले बताए । सरकारले एक सय ९९ वर्षको लागि भारतसंग सम्झौता गरेका छन् । सम्झौता अनुसार कोशी नदीबाट दुई वटा मुख्य नहर निकालिएको छ ।



दक्षिणी नहरको ३२ किलो मिटर बाँध सप्तरीमा पर्छन् । त्यो बाँध भारत सरकारले मर्मत सम्भार नगर्दा सप्तरी दक्षिणी बेल्टका जनता सधंै पीडा भोग्ने गरेको उनले बताए। ‘सरकारले कोशी दक्षिणी भागको सडक र बाँध बनाउनु पर्छ कि त रद्द गर्नु पर्छ,’उनले भने । बाँध र सडक मर्मत सम्भारको लागि स्थानीय पटक पटक आन्दोलित हुँदै आएपनि सरकारले वेवास्ता गरेको बताए ।
सरकारले यस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिनु पर्ने उनले माग गरे । चार दशकदेखि उक्त सडक भारत सरकारले मर्मत सम्भार नगरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।




