अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएका चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
बिहीबार विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको हो ।




