जनकपुरधाम - करिव छ सय भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ मधेशको राजधानी जनकपुरधाम आइपुगेको छ।

रामायण सर्किट अन्तर्गत भारतीय रेल्वेले सुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो ।

धार्मिक विभिन्न धर्मका तस्वीर र सदभाव दर्शाउने तस्वीरहरु अंकित रेलबाट जनकपुरधाम आइपुगेका करिव छ सय पर्यटकहरु घाम छेक्न चाहिने छाता सहित विभिन्न बन्दोबस्त आइपुगेका हुन् । अयोध्या नरेश भगवान राम र मिथिलाकी राजकुमारी माता जानकीको जन्म स्थल क्रमश भारतको अयोध्या र नेपालको जनकपुरधाम सहित रामायण सर्किटको पर्यटन विकासका लागि मुख्यतः यो रेल जनकपुरधाम आइपुगेको हो ।
१८ दिनको धार्मिक यात्रा अन्तर्गत तेस्रो दिन भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम रेल्वे स्टेशनमा करिब पौने दुई बजे आईपुगेको हो ।

मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे यात्रा सुरु गरेका थिए ।

बिहीबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तिर्थयात्रुलाई स्वागत गर्नका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दास सहित स्थानीयहरु पुगे थिए।

रेल जनकपुरधाम पुग्ने वितिकै दुवै देशका नागरिकहरुले जय जय सियारामको नारा घन्काउन थालेपछि वातावरण नै रमणीय बनेको छ । जनकपुरधाममा भगवा रंगको जय सियाराम लिखित झन्डा बजार क्षेत्रमा सजाइएको छ ।

पर्यटकहरु प्रसिद्व श्री जानकी मन्दिर, साँझ हुने महागंगा आरती, शुक्रबार धनुषाधाम सहितका जनकपुरधाम र यसक्षेत्रका सम्पुणर् धार्मिक सम्पदा र कुट्टी र कुण्डहरुको दर्शन अवलोकन गर्नेछन् । उनीहरुको स्वागतमा रेल्वे स्टेशन पुगेका मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र पर्यटन मन्त्री सत्रुधन महतोले यो यात्राबाट प्रचार प्रसार र रामायण कालिन स्थलहरुको पर्यटक विकासका लागि सम्भाव्यता खोज्ने एक कदम रहेको बताए ।

जनकपुरधामका मेयर मनोज कुमार साह र श्री जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले जनकपुरधाम र अयोध्याधामलाई भगिनी धार्मिक शहरको रुपमा विकास गर्न यस यात्राले थप बल पुग्ने बताए ।

बिरगंज स्थित महाबाणिज्य दुतावासका महाबाणिज्य दुत निनेश कुमारले यात्रा रामायणबाट रामायण सर्किटको विकासका अनेकन सम्भावयता र अगामि प्रयासहरुको बाटो खोल्ने र दुई देश बिच त्यसका लागि छलफलको वातावरण समेत बनाउने बताए ।

जनकपुरधाम आएका पर्यटकहरु तत्कालिन मिथिलाको राजधानी जनकपुरधाम देखि माता जानकी उत्पती भएको सथल भारतको सितामढी सम्म बसबाट यात्रा गर्नेछन् । रेल भने बिना पर्यटक आजै जनकपुरधामबाट सितामढी पुग्ने छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको रेल र पर्यटकहरुको स्वागतका लागि जनकपुरधामका उद्योगी, पर्यटन व्यवसायीहरु समेत एकजुट भएर सक्रिय छन् । भारतीय राजदूतावासका अनुसार यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला र धार्मिक सदभाव र भाईचारा दर्शिने जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायत झल्को चित्रित छ ।

जनकपुरधाम पुगेका तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन्। रामायण सर्किट अन्तर्गत भारत र नेपाल बीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने व्यवसायीहरुको आशा छ ।











