जिल्ला प्रशासन कार्यालय रौतहटबाट नयाँ नागरिकता र राहदानी लिनेहरुको संख्या उल्लेखनीय रुपमा बढेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को तुल्नामा चालु आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय गौरबाट नागरिकता प्रमाणपत्र लिनेको संख्या करिव दोब्बरले वृद्धि भएको छ । पछिलो एक वर्षमा मात्र १९ हजार ५९ नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । आव २०७७÷०७८ मा कुल १० हजार ४ सय ९७ जना नयाँ नागरिकता लिएकोमा आव २०७८/०७९ को असार १२ गतेसम्म १९ हजार ५९ जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गौरको इतिहासमै अहिलेसम्म सबैभन्दा बढी नागरिकता वितरण चालु आर्थिक वर्षमा गरिएको प्रमुख प्रशासकीय अधिकृत कायस्थले बताए । कायस्थका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट एकै दिनमा २ सय जनासम्मले नागरिकता लिएका छन् । अधिकांश समय जिल्ला बाहिर बसोबास गर्ने नागरिकले घर आएको बेला नागरिकता तथा राहदानीको काम गर्ने भएकाले प्रशासनमा भीडभाड हुनेगरेको उनले बताए । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको संख्या बढेको उनले बताए ।
त्यस्तै राहदानी लिनेको संख्या समेत ह्वातै बढेको देखिएको छ । पछिलो एक वर्षमा ५ हजार २ सय ५५ जना राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खास गरी वैदेशिक रोजगारीमा जानेहरु बढी राहदानी बनाउने गरेको पाइएको छ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिने मलेशिया लगाएतका देशमा श्रम गर्न जानेहरु पासपोर्ट बनाउने गरेका छन । कोरोना महामारीका कारण बन्द भई दुई वर्षपछि मलेशिया रोजगारीका लागि खुल्ला भएसँगै जिल्ला प्रशासन कार्यालय गौरमा पासपोर्ट बनाउन आउने युवाहरुको संख्या बढेको देखिएको छ ।




