जनकपुरधाम- जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ।
भारत सितामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भमरपुराचोक डेरा गरि बस्ने हरिओम चौधरीको ३ वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।
अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले बालक सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोतरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन् । खातुनलाई बालक सहित प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन् । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
गत असार ६ गते बिहान ७ बजे घर अगाडी खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भनेपनि ती महिलाको परिचय खुलेको थिएन ।
प्रहरीलाई जानकारी हुने बितिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी खातुन उपर अपहरण तथा शरिर बन्धक शिर्षकमा मुद्दा दायर गरि थप अनुसन्धान अगाडी बढाएको एसपी रजौरेले बताए ।




