महेन्द्रनगर- साउने सोमवारीमा महादेव मन्दिरहरुमा पुजापाठ गर्ने चलन अनुसार धनुषा क्षिरेश्वरनाथ महादेव मन्दिरमा साउने सोमवारीको पूर्वसन्ध्यामा आज मन्दिर परिसरको सरसफाई गरिएको छ ।
क्षिरेश्वरनाथ धर्मसंस्था समितिको अगुवाई र क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा श्री श्रीनाथ गणका नेपाली सेना, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान, सशस्त्र प्रहरी वेस क्याम्प नकटाझिजका प्रहरी जवान, स्थानिय विभिन्न संघ संस्था प्रतिनिधि, विद्यार्थी, राजनितिकर्मी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
सरसफाई कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव क्षिरेश्वरनाथ मन्दिर कै नाममा क्षिरेश्वरनाथ नगरपालिकाको नाम जोडिएको हुँदा यसलाई व्यवस्थीत गर्न जरुरी रहेकाे बताए ।
उनले आउनेदिनमा यो स्थानलाई यस धर्म संस्थाको सहकार्यमा पर्यटकिय हिसाबले विकास गर्ने जनाए ।
पौराणानिक धर्म ग्रन्थमा उल्लेखित यस क्षिरेश्वरनाथ महादेव स्थानको जुन रुपमा प्रचार प्रसार हुनुपर्ने हो त्यो हुन नसकेको हुँदा आफू निर्वाचित भएदेखि नै यो स्थानको विकासको लागी नगर सभा देखि विभिन्न कार्यक्रमहरुमा अवाज उठाउँदै आएको वडा नम्बर ७ का वडा अध्यक्ष मुवारक कवारीले बताए।
क्षिरेश्वरनाथ धर्म संस्थाका अध्यक्ष ईश्वरी अधिकारी क्षिरेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सेवा सुविधाका लागी तयारी अन्तिम चरणमा रहेको बताउँदै यो स्थानलाई व्यवस्थापनको लागी स्थानिय र प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताए।