जनकपुरधाम- मधेस प्रदेश सरकारको अतिमहत्वाकांक्षी तथा लोकप्रिय कार्यक्रम बेटी पढाऊ, बेटी बचाऊ अभियानमा भ्रष्टाचर भएको ठहर गर्दै ८ जना विरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिव सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दास विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी अनुसार ओमसत्य साई प्रालि वीरगञ्जकी एमडी रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कणर् विरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको छ ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन प्रदेश सचिव भूसालले सम्झौता विपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानी समेत गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्शानी पुर्याएको दावी गरेको छ ।
अख्तियारले प्रदेश सचिव भूसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालिकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ विगो माग दावी गरिएको छ ।
मधेश प्रदेश सरकारले छात्रा शिक्षा प्रवद्र्धन गर्ने गरी बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम सुरु गरेको थियो ।
उक्त कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नै सञ्चालन गरेको थियो । तर गत वर्ष महालेखा परीक्षकको कार्यालयले यो कार्यक्रममा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेपछि गत वर्ष नै अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।
अख्तियारले दायर गरेको मुद्दाको पूर्णपाठ हेर्नुहोस् ।




