महोत्तरी - महोत्तरीको टुटेश्वरनाथ महादेव धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । प्रत्येक सोमबार त्यहाँ हजारौ श्रद्धालु भक्तजनहरु महादेवमा जलार्पण गर्नकालागि पुग्ने गरेका छन् । आदिकालमा महात्माहरुले स्वप्नवर्णनबाट पत्ता लगाएका प्राचीन शिवलिङ्ग हुनाले पनि यो धार्मिकस्थल श्रद्धालुको रोजाइमा पर्ने गरेको जनाइएको छ । प्रत्येक वर्षको साउन महिना, बालाचतुर्दशी र महाशिवरात्रिको अवसरमा सो स्थानमा श्रद्धालुको सघन उपस्थितिले जगमगिने गर्छ ।
साउनमा टुटेश्वरनाथ मन्दिर श्रद्धालुले भरिभराउ देखिन्छ । अहिले राता, पहेँला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर गुलजार (रमणीय, चहलपहलयुक्त) देखिँदो छ । अझ साउने सोमबार त शिवालयमा लाग्छ, मानव सागर नै उर्लंदै छ । बर्दिबास नगरपालिका–५ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ । ‘जिल्लाका मुख्य धार्मिक र पर्यटकीयस्थल कुन कुन हुन् ?’ महोत्तरी बुझेका जोसुकैले यो जिज्ञासामा ‘जलेश्वर, टुटेश्वर….’ जवाफ फर्काउन अनकनाउनु पर्दैन ।
यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको टुटेश्वरवासी गुनासो गर्छन् । ‘यहाँ साउन लागीकन यसपालि पाँच लाखभन्दा बढीले भगवान् शिवको दर्शन गरिसकेका छन’, टुटेश्वरनाथ साउने मेला व्यवस्थापन समितिका अध्यक्ष हरि महत भन्छन्–‘साउनका प्रत्येक दिन दर्शनार्थी आइरहे पनि सोमबार थेगी नसक्नु भीड हुन्छ ।’ साउन तेस्रो साता सकिँदासम्म पाँच लाखभन्दा बढीले शिवदर्शन गरेका महतको आँकडा छ । ‘ठाउँको प्रसिद्धि छ, मान्छे आउँछन् , तर हाम्रा तीनै तहका सरकारको भने यहाँ खासै आँखा परेको छैन’, उनको गुनासो छ ।
टुटेश्वरनाथमा दर्शन गर्नेहरु महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा र सप्तरी सहितका जिल्ला र छिमेकी देश भारतको विहार र उत्तरप्रदेश प्रान्तका भक्तहरु भेटिएका छन् । घना वनक्षेत्रभित्र आठ किलोमिटर दूरी पैदल यात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पाहाडको रमाइलो थुम्कोमा रमणीय देखिनुले यो धार्मिकस्थलको आकर्षण बढेको भारतको विहार राज्यको झञ्झारपुरबाट टुटेश्वर आइपुगेका शिवभक्त मिथिलेश सरण बताउछन् । ‘हेर्नुहोस्, यो ठाउँ भगवान् शिवको अत्यन्त प्यारो हुनपर्छ उनी भन्छन्–‘यहाँ जो आई पुग्छन्, उनलाई कुनै खास ठाउँ पुगेको अनुभूति जरुर हुनेछ ।’ सोमबार दर्शन गर्न एक दिन पहिले नै टुटेश्वर पुगेका सरणले टुटेश्वरका बासिन्दा अत्यन्त सहृदयी भेटिएका पनि बताए ।
भौगोलिक अवस्थितिले विशिष्ट मात्र नभई टुटेश्वरका स्थानीयवासीको अतिथिप्रतिको सद्भाव, स्नेह र सहयोगी भावले पनि यो ठाउँ भक्तहरुको रोजाइमा पर्ने गरेको यसपालिसमेत पाँचौँ पटक यहाँ पुगेका भारतकै शिवहर जिल्लाका प्रभुनारायण साहको धारणा छ । यसबाहेक साउने मेला पर्वले एक अर्को प्रदेशको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । टुटेश्वरमा प्रदेश–१ र बागमती प्रदेशका भक्तजन बाक्लै भेटिएका छन् । आफ्नो ठाउँ धार्मिक प्रसिद्धिले विशिष्ट भए पनि यस ठाउँको विकासमा सरकारका तर्फबाट खासै आँखा नपरेको मन्दिर अवस्थित बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याङ्वा स्वीकार गर्छन् । टुटेश्वरधाममा सुविधासम्पन्न धर्मशाला, खानेपानी, शौचालय र आगन्तुकले पूर्ण सुरक्षित रहेको अनुभूति हुनेगरी व्यवस्था गर्नसके यहाँ बास बस्न नै पर्यटक आउने स्याङ्वाको भनाइ छ । यसपालि गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका स्याङ्वाले यहाँको धार्मिक पर्यटनलाई सघाउ पुग्नेगरी वैज्ञानिक योजना बनाइन नगर कार्यपालिकाको ध्यानाकर्षण गराइएको बताए ।
यसैगरी बर्दिबासका नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले पनि टुटेश्वरधामसहित नगरका अति प्राचीन धार्मिक सम्पदा पञ्चधुरा माई मन्दिर र राईमण्डल धार्मिकक्षेत्रको पर्यटकीय सम्भावना बढाउन विज्ञहरुको सरसल्लाहबाट काम अघि बढाइने बताए । ‘ठाउँ र यसको सम्भावना, आवश्यकता र आर्थिक स्रोतको वैज्ञानिक विश्लेषणबाटै काम गरिनुपर्छ । उनी भन्छन्–‘हाम्रो प्रयत्न यसै दिशामा केन्द्रित भएको छ ।’ नगरको आफ्नो सामथ्र्य, प्रादेशिक र सङ्घीय सरकार सबैको नजर टुटेश्वरमा पारिने क्षत्रीको प्रतिबद्धता छ ।
शिवालयमा हुने भक्तको जमघटलाई पर्यटन प्रवद्र्धनमा जोड्न अब टालटुले नभई वैज्ञानिक विश्लेषणबाटै विकास योजना बन्नुपर्ने र टुटेश्वरलाई धार्मिकस्थल मात्र नभई मुख्य पर्यटकीय गन्तव्य नै बनाउने गरी काम बढाउन जिल्लाका बुद्धिजीवीले पनि तीनै तहका सरकारलाई सुझाएका छन् ।




