जनकपुरधाम- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशका सबै जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।
मधेश प्रदेश समितिका उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख शम्भू झाले प्रदेशको आठवटै जिल्लाका ३२ प्रतिनिधिसभा र ६४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि प्रत्येक क्षेत्र वाट तीनजनाको नाम सिफारिस गरिएको जानकारी दिए ।
उपाध्यक्ष झाले प्रदेशसभा समानुपातिकका लागि प्रत्येक जिल्ला वाट पाँच जना पुरुष र पाँच जना महिला गरी ४० पुरुष र ४० महिलाको नाम सिफारिस गरिएको जानकारी दिए ।
यसैगरी प्रतिनिधिसभा समानुपातिककालागि पुरुष र महिलागरी जम्मा ७० जनाको नाम सिफारिस गरिएको छ । पार्टीका क्षेत्रीय समितिहरुको सिफारिसमा जिल्ला समितिहरुले गरेको सिफारिसलाई आधार मानी प्रदेश समितिको अधिकार प्रत्यायोजन बमोजीम मधेश प्रदेश कार्यकारिणी समितिले निणर्य गरी सिफारिस गरेको उपाध्यक्ष झाले बताए ।
मधेश प्रदेश समितिका उपाध्यक्ष झाका अनुसार केन्द्रीय अध्यक्ष उपेन्द्र यादव को नाम मधेश प्रदेश का ११ निर्वाचन क्षेत्रबाट सिफारिस आएपनि प्रदेश समितिले ४ वटा क्षेत्रका लागि नाम सिफारिस गरेको छ । जसमा सप्तरी-२,सिरहा- २,धनुषा-३ र वारा-२ रहेको छ । यी मध्ये अध्यक्ष यादवको उम्मेदवार हुने जहाँवाट इच्छा भए प्रदेश समितिको पूणर् सहयोग र समर्थन रहने छ ।
एक दुईवटा अपवाद वाहेक प्रत्यक्ष तर्फ वहाल रहेका प्रदेश सभा सदस्यहरु सबैको सिफारिस गरिएको मधेश प्रदेश समितिका उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख झाले जानकारी दिए ।
प्रचार प्रसार विभाग प्रमुख झाले समानुपातिक तर्फ वहाल वाला प्रदेश सभा सदस्यहरुको सिफारिस नगरिएको समेत बताए। वहालवाला समानुपातिकहरुलाई प्रत्यक्ष तर्फ र समानुपातिक प्रतिनिधिसभा तर्फ सिफारिस गरिएको छ ।
समितिले केन्द्रवाट उम्मेदवारहरुको अन्तिम निणर्य नहुन्जेल सम्म सिफारिसलाई आधार मानी सामाजिक सञ्जालहरुमा स्वयं उम्मेदवार भएको घोषणा नगर्न सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको प्रचार प्रसार प्रमुख झाले जानकारी दिएका छन् ।