
(धनुषा) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश खारेज हुनु पर्ने बताएका छन् ।
ऋण काढेर जनप्रतिनिधि पाल्ने व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
शुक्रबार धनुषाको ढल्केवरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले तीन तहको सरकार नेपालले धान्न नसक्ने बताए ।
उनले भने, ’ऋण काढेर जनप्रतिनिधि पाल्ने व्यवस्थाको अन्त्य हुनुपर्छ। केन्द्र र बलियो स्थानीय तह भए हुन्छ।’
उनले जनप्रतिनिधि पाल्न अनावश्यक ऋणको भार बढेको बताउँदै तीन तहको सरकार देशले धान्न नसक्ने जिकिर गरे।
अध्यक्ष लिङदेनले भने, ’कसैलाई संघियता प्यारो लाग्छ र संघीयता साँचिक्कै अधिकारसँग सम्बन्धित छ भन्ने लाग्छ भने राप्रपालाई आपत्ति छैन। संघीय व्यवस्था भनोस् केही छैन। तर प्रदेश खारेज हुनुपर्छ। तीन तहको सरकार नेपालले धान्न सक्दैन।’
लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन सुनियोजित ढंगले राजा हटाइएको उनले टिप्पणी गरे। आफूहरूले पनि शासन गर्ने राजाको परिकल्पना नगरेको उनले औल्याए।

’हामीले परिकल्पना गरेको राजा भनेको शासन गर्ने होइन। एउटा अभिभावकीय संस्थाका रूपमा हामीले राजा खोजेका हौं,’ अध्यक्ष लिङदेनले भने, ’पूणर् समानुपातिक संसद, सांसद मन्त्री हुन नपाउने। जनताले सोझै प्रधानमन्त्री चुन्न पाउने।’
अहिले नागरिकतालाई मुद्दा बनाएर राजनीति भइरहेको अध्यक्ष लिङदेनले आरोप लगाए। पाँच वर्षसम्म कसले र किन विधेयक अड्काएर राख्यो? अहिले चुनावी मुद्दा किन बनाइँदैछ?, प्रश्न गर्दै उनले भने ’मानवीय संवेदनशीलतासँग र देशको भविष्यसँग खेल्ने काम किन र कसले गरिराखेको छ? नागरिकता पाउनुपर्नेले नागरिकताबाट वञ्चित हुनुपर्ने र नपाउनुपर्नेले पाएर देशमा राज गर्नुपर्ने। यो कस्तो व्यवस्था हो?’