
मंसिर ४ पछिको चुनाव पश्चात मधेस र मधेसी शक्तिहरुले ‘रिथिंक’ गर्नेछ
राष्ट्रपतिले संवैधानिक “कू” गर्नुभएको छ
यसपाली मधेसवादी शक्तिहरु १०-१२ भन्दाबढि सिट जित्दैन
उपेन्द्रजी लाई अचानक के प्राप्त भयो की उहाँले संबिधान दिवस मनाउन थाल्नुभयो?
जनतालाई झुक्याउने काम
तमलोपा उपाध्यक्ष डा.विजय कुमार सिंह सँग तमलोपा र मधेसवादको वर्तमान अवस्था र भविष्यबारे शिरीष न्युजकोलागि रणधीर चाैधरीले गरेको कुराकानीको सम्पादित अंश।
नगरिकता मुद्दामा राष्ट्रपतिको कदमलाई कसरी लिनुभएको छ ?
-राष्ट्रतिले संवैधानिक व्यवस्था र संविधानिक भावना र मर्म विपरित विधायिकाहरु बट दोश्रो पटक पुनः पारित विधेयेकलाई प्रमाणिकरण नगरी संविधानलाई तिरस्कृत गर्नु भयो । यो सर्वथा अशोभनीय हो संवैधानिक कर्तव्य बाट विमुखता पनि । सार्वभौम जनताको अधिकारको प्रयोग “प्रतिनिधी विधायिका र कार्यपालिका”ले गर्ने हो, राष्ट्रपतिले होइन । राष्ट्रपति ले गरेको यस संवैधानिक “कू” लाई सच्याउन र सार्वभौमसत्ता जनता र “जनताको प्रतिनिधी” विधायिका मा नै रहेको तथ्य लाई पुनस्र्थापित गर्न स्वस्थ्य परम्परा कायम गरी यस विधेयक लाई ऐन को मान्यता एकमात्र विकल्प छ । न्यायपालिका लाई पनि यसमा भागीदार बनाउनु गलत परम्पराको थाली हुन जान्छ । कार्यपालिका द्वारा स्थापित हुने यस परम्परा विरुद्ध अदालतमा जाने बाटो खुला नै छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले असोज ३ कसरी मनायो ?
-तमलोपाले असोज ३ लाई कालो दिवसको रुपमा मनायो । जलेश्वर, जकपुर लगायत मधेसका बिभिन्न ठाउँमा तमलोपाले कालो दिवस सम्बन्धी प्रतिकात्मक कार्यक्रमहरु समेत गरेको छ ।
कालो दिवस किन ?
-संबिधान घोषणाता राज्यद्वारा जसरी बन्दुकको नालमा त्रास्दीपूणर् सिनारीयोमा संबिधान ल्यायो उक्त दिनलाई कालो दिनको रुपमा नै सम्झिन हामी बाध्य छौं । संबिधान घोषणाको बेला हामीले संबिधानसभा समेत बहिस्कार गरेका थियौ । म आफै पनि संबिधान सभा सदस्य थिए । संबिधानमा रहेका हाम्रा बिमत्तिहरु, कन्सर्नहरु सम्बोधन हुन नसकेको अवस्थामा हामीले संबिधान दिवस नमनाएका हौं ।
हामीले पनि यो कालो दिवस मनाइराख्नु पर्ने कारणहरु अझ बढि स्पस्ट ढंगले जसरी जनमानसमा लग्नु पथ्यो त्यसमा कमीकमजोरी रह्यो भनी मेरो सुइकारोक्ती हो । साथै म यसमा के थप्न चाहन्छु भने, संबिधान सभाबाट जारी भएको संबिधानमा किन नेपालको एउटा ठूलो तप्काको असंतुस्टीको वेग किन बढ्यो ? यसबारे नागरिक समाज, प्रबुद्ध वर्ग, पत्रकारहरुले समेत बहस गरेको देखिँदैन जुनकी लोकतन्त्रका अशोभनीय देखिन्छ ।
जनता समाजवादी पार्टीले त गत वर्ष देखि संबिधान दिवस मनाउन थाल्नु भएको छ नी ?
-अँ, उपेन्द्रजीहरुले संबिधान दिवस नै मनाउनु भएको छ । तर संबिधानमा हस्ताक्षर किन गर्नुभएन ? संबिधान सभा बहिस्कार किन गर्नुभयो ? र अचानक के प्राप्ती भयो की उहाँले संबिधान दिवस मनाउन थाल्नुभयो भनी प्रश्न उहाँ माथि छ । यसको जवाफ उपेन्द्रजीहरुले आम जनतालाई दिनैपर्ने हुन्छ । जनताले सबै नियाली रहेका हुन्छन भन्ने कुरामा म विश्वस्त छु ।
महन्थ ठाकुरजीले तमलोपा गठन गर्दा तपाईहरु उहाँ सँगै पार्टीमा आबद्ध हुनुभयो । यात्रा लामो नै चल्यो । अनि उहाँको साथ छोडी नयाँ तमलोपा गठन गर्नुपर्ने कारण ?
-यसमा बिभिन्न खालको परिस्थितीको भूमिका छ । प्रथम मधेस आन्दोलन भइसकेको थियो । तत्कालिन सरकारले २२ बुँदे सम्झौता पनि उपेन्द्रजी सँग गरिसकेको थियो । तर मधेसले खोजेको पोलिट्कल रोडम्याप बन्न सकेको थिएन ।
तत्कालिन मधेसी जनअधिकार फोरम एउटा एनजिओ थियो । सितानन्दन राईजीको स्वास्थ्य अवस्थामा समस्या आएको कारण म त्यतीबेला सरकारी जागिरमा भएपनि बुद्धिजीवी फोरमको कार्यकारी अध्यक्ष भएको थिए । मैले केवल यती भन्न खोजेको हो की फोरम राजनीतिक दलको आकार समेत ग्रहण गरेको थिएन । स्वस्फुर्तरुपमा सुरुभएको उक्त आन्दोलनमा केही विशेष फ्याक्टरले भूमिका खेलेको थियो । उक्त पहिलो मधेस आन्दोलन पश्चात मधेसको राजनीतिबारे बिभिन्न पेशामा आबद्ध मधेसी जनताहरुले बिभिन्न खालको अपेक्षाहरु गर्न थालेका थिए । २०६४ मंसिर २६ गतेका दिन तत्कालिन सरकारमा मन्त्री र नेपाली काँगे्रसका कोषअध्यक्षको जिम्मेवारीमा रह्नुभएका महन्थ ठाकुरजीले पार्टी नै परित्याग गरी तमलोपा गठन गर्नुभएको थियो । जसको मुख्य उदेश्य भनेको मधेसी राजनीतिलाई एउटा स्पस्ट राजनीतिक लाईन दिन, आम मधेसी जनता लगायत सिमांन्तकृत समुदायले भोग्दै आएको बिभेदलाई राजनीतिकरुपमा सम्बोधन गराउन र सम्पूणर् अधिकारहरु संबिधानमा उल्लेख गराउनु तमलोपाको वास्तविक ध्येय थियो ।
तमलोपा गठन पश्चात जनकपुरमा जुन आमसभा भएको थियो त्यसको अध्यक्षता मैले नै गरेको थिए । जुनदिन हाम्रो आमसभा भएको थियो उक्त दिन नै संयोगले तमलोपा, राजेन्द्रजीको नेपाल सदभावना पार्टी र एनजीओ बाट पोलिटक्ल पार्टीको रुपमा गठन भएको मधेसी जनाधिकार फोरम, तीनै दलले संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने निणर्य भएको थियो । संबिधान सभाबाट संबिधान बनाइने बहसहरु जारी थियो त्यतीबेला । हामी पनि आफ्ना आन्दोलनका मुद्दाहरु संबिधानमा लिपिबद्ध गराउनुपर्छ भनी रणनीतिक वार्ताहरु गरिरहेका थियो । हामीले गरेको आन्दोलनलाई लिएर तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रशाद कोइराला ले सम्बोधन पनि गर्नुभयो । हामीसँग नेगोसिएट गरि ८ बुँदे सम्झौता पनि भयो । त्योबेला वास्तवमा भन्नेहो भने त्यो ८ बुँदे सम्झौताले आन्दोलनका आधारभुता हरुलाई सम्बोधन गर्ने भनी रिफलेक्शन दिएको थियो । त्यसबेलाका नेतृत्वले ८ बुँदे सम्झौता गर्न खेलेको भूमिका सराहनिय नै थियो । वास्तवमा भन्ने हो भने त्यो ८ बुँदे सम्झौतालाई म अहिले पनि मधेसी राजनीतिको एउटा बटमलाईनको रुपमा नै लिएको छु ।
आखिर के भयो की तपाईँहरु अचानक नयाँ पार्टी गठन गर्न बाध्य हुनुभयो ?
-हेर्नुस, त्यो तमलोपा ले पहिलो संबिधान सभाको निर्वाचनमा संबिधान सभा भित्र रामै्र उपस्थिती दर्ज गराउन सफल भएको थियो । दोस्रो संबिधान सभामा पार्टीको उपस्थिती त्यती उत्साह जनक हुन सकेको थिएन । त्यसका बिभिन्न कारणहरु रहेहोलान । तर पछि गएर पार्टी संचालनमा पनि बिभिन्न प्रश्नहरु खडा हुन लागेको थियो । एउटा कुरा जानकारी गराउँ तपाईलाई, जतिबेला ६ वटा मधेसवादी दलहरु बिच एकिकरण गर्ने चर्चा चल्यो, त्यस बखत पार्टीको रेंक एण्ड फाइलको आधारमा निणर्य गरिएन । यो राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गर्ने बेलाको कुरा गर्दैछु म । राजपा गठन हुँदा तत्कालिन तमलोपा नेतृत्वले पार्टीभित्रका अन्य जिम्मेवार नेताहरुसँग कुनै छलफल नै नगरेको जस्तो अनुभूती भएको थियो । ६ दलिय एकिकरण हुँदा ६ वटै पार्टीका अध्यक्षहरु राजपामा अध्यक्ष मण्डलको अवधारण लाद्नुभयो । त्यो आफैमा एउटा कम्पनी जस्तो देखिन्थ्यो, ६ जना सेयर होल्डरहरुको कम्पनी । मैले महामन्त्रीको हैसियतमा पार्टीमा आवाज उठाउने गर्थे की तपाई अध्यक्ष मण्डलका सदस्यहरु पहिला आफै छलफल गरेर अजेण्डा तयार गर्नुस अनिमात्र पार्टी भित्र उक्त विषयहरुलाई संयुक्तरुपमा प्रवेश गराउनुस । तर होइन, वहाँहरु व्यक्तिगत हिसाबले विषय वस्तु ल्याउनु हुन्थ्यो । अनि हामी केही साथीहरुले यो अध्यक्ष मण्डलीय पद्धती व्यवहारिक भएन । यो फर्मेटमा पार्टी प्रस्फुटित हुन सक्दैन भनी आफ्ना आवाज मुखरित गरिरहे । त्यो प्रणाली नै असफल जस्तो देखिन्थ्यो ।
अनि यती कारणले पार्टी नै त्याग गर्नुभयो ?
-त्यती मात्रै कहाँ हो र । पछि उपेन्द्रजीको संघीय समाजवादी पार्टीसँग एकिकरणको विषय चल्यो । हुन त त्योभन्दा अगाडी पनि राजपा भित्र मधेसवादी शक्तिहरु एकजुट हुनुपर्छ चर्चाको सुरुवात नभएको होइन । यद्धपी हामी केही साथीहरुले एकिकरण गर्दा सैद्धान्तिक धरातल र प्रक्रियागत सवाल लाई केन्द्रमा राख्न भनी आवाज उठाइरहेका थियौं । मैले व्यक्तिगतरुपमा पनि सबैजसो अध्यक्षहरुलाई आफ्नो बुझाई साझा गर्दै भनेका थिए की उपेन्द्रजीको पार्टीसँगको एकिकरण चिरस्थाई हुनै सक्दैन । तर उपेन्द्रजीको पार्टीलाई फुटबाट जोगाउने निहुमा महन्थ ठाकुर लगायत बाँकी पाँच वटा अध्यक्षहरुले मध्यरातमा उपेन्द्रजी सँग एकिकरण गर्नुभयो । राजपा भित्र एकिकरणबारे ठोस बहस समेत भएन वा भनौ गरिएन । आखिर उपेन्द्रजीसँगको एकिकरण खासै चलेन र अन्ततः पार्टी बिखण्डन भयो ।
राजपमा मा एउटा विशेष समिति थियो । त्यो तीस सदस्यीय राजनीतिक समिति थियो । उक्त समितिको एउटा पनि वैठक बस्न सकेको थिएन । पार्टी भित्र नामको लागि समीतिहरु गठन भएको थियो । नेतृत्वको एकल निणर्य लाद्ने प्रबृति हावी थियो राजपामा।
पछि जब लोकतान्त्रि समाजवादी पार्टी गठन हुने बेला आयो त्यसबेला बृषेशचन्द्र लालजी, म लगायत अन्य केही साथीहरुले लिखित रुपमा महन्थ ठाकुरजी लाई भनेका थियौ की उपेन्द्रजी ले जसरी मधेशको भावनामाथि कुठाराघात गर्नुभएको छ त्यसलाई लिएर हामी जनतामाझ जाउँ । वडा देखि माथि सम्म हामी जोडदाररुपमा पार्टी सँगठन बिस्तारमा आफ्नो उर्जा लगाउँ । लोसपामा एकल अध्यक्षीय प्रणाली ठिकै रह्ला तर पार्टीले गर्ने निणर्यहरु कार्यकारीणी समिति मार्फत वा पार्टीले निर्धारण गर्ने प्रक्रिया तहत रितपूर्वक ढंगले अगाडी बढाउनु पर्छ भनी समेत अवगत गराएको थियौ । तर आन्तरिक लोकतन्त्र नै हराएको राजपा नेतृत्व बेमतलबी जस्तो देखिए । आज हेर्नुस लोसपा पार्टी परित्याग गर्ने एककिसिमको लहर नै चलेको छ । सबैले एउटै आरोप लगाइ रहेको छ की पार्टीभित्र कार्यकारणी बिना आफ्नै ढंगले पार्टी चलाउने परिपाटी मौलायो ।
हामीले त्यसबेला पनि पार्टीका अध्यक्ष(हरु)लाई भनेका थियौ की मधेसवादी पृष्ठभूमी भएका नेता कार्यकर्ताहरु नेपाली काँगे्रस, एमाले जस्ता पार्टीमा प्रवेश गरिरहेका छन् । लोसपाले आन्तरिक लोकतन्त्र र नेतृत्वमा सुधार ल्याइ त्यस्ता नेता कार्यकर्ताहरुलाई एउटा कुशल नेतृत्व प्रदान गरि पार्टीलाई बलियो बनाउनुपर्छ । तर बिडम्बना !…..
अहिलेको तमलोपाको पोलिटक्ल रोडम्याप के छ त ?
-हामीले गत स्थानीय निर्वाच भन्दा झण्डै एक-डेढ महिना पहिला मात्र पार्टी दर्ता गरायौ । हामीसँग यथेस्ट समय नै भएन । तैपनि महोत्तरी गाउँपालिका लगायत केही वडाहरुमा हामीले निर्वाचन जित्यौ । यसबाट केही हदसम्म हामीमा उत्साह थपिएको छ । हामीले सबैभन्दा पहिला सँगठन बिस्तारमा ध्यान दिएका छौ । अहिले फेरी मंसिर ४ गते हुने भिनएको चुनाबको चटारो छ । तपाईँलाई एउटा व्यवहारिक कुरा भन्छु । मधेस तिर तपाई चुनावको बेला राजनीतिक सवालका सार्थक बहसलाई पनि चुनाब सँग दाँजेर हेर्ने चलन छ । हामीले आफ्ना मुद्दाहरु गाउँघरमा उठाउन जाँदा पनि यिनीहरु भोट लिनको लागि कुरा गरिरहेका छन् भन्ने दृष्टीकोण राख्ने गर्छन ।
मंसिर ४ को चुनावमा हामी प्रतिकात्मकरुपमा भाग लिनेछौ । यो चुनावमा हाम्रो ठूलो महत्वकांक्षा छैन् । हाम्रो प्रयाश रह्ने छ की हामी अधिक्तम सफलता हासिल गरौ । अहिले त हामीले पार्टीको सामान्य अस्थिपञ्जर मात्र निर्माण गरेका छौ । मासु लगायत अन्य कुराहरु थप्ने काम मंसिर ४को चुनाव सक्न साथ अगाडी बढ्ने छ ।
मेरो एउटा व्यक्तिगत बुझाई छ जुनकी म पार्टीभित्र आफ्ना साथीहरुसँग भन्दै आएको छु । त्यो के हो भन्ने, यो मंसिर ४ पछिको चुनाव पश्चात मधेस र मधेसी शक्तिहरुले ‘रिथिंक’ गर्नेछ की मधेसको मुद्दा कहाँ छ र मधेस कहाँ छ भनेर । अहिले जेजती गरेपनि मधेसका बौद्धिक वर्ग होस या सर्वसाधारण मधेसी जनता नै किन न होस सबैजना ‘रिएक्टिव’ छन् । रिएक्सन सकारात्मक छैन्, पुरै नकारात्मक । प्रतिक्रिया देखिएदिने मुडमा रहेको छ, मधेस । र यो कुनै अनौठो कुरा होइन । मधेसवादी शक्तिहरुसँग आम मधेसी जनताले ठूलो अपेक्षा राखेको थियो । मधेस प्रदेशमा पाँच वर्षसम्म मधेसी दलले नै सरकार चलायो । यो सरकारले पनि पुरानै परिपाटीहरुलाई निरन्तरता दियो । बरु सरकारमाथि भ्रष्टाचारको आरोपहरु लाग्ने एउटा श्रृङ्खला नै चल्यो ।
हामी मंसिर ४ को निर्वाचन पश्चात मधेसका हरेक जिल्ला पुगी वडा स्तरदेखि नै सँगठन निर्माणमा लाग्ने छौ । वास्तवमा भन्नुहुन्छ भन्ने मधेसमा एउटा मधेसवादी राजनीतिक शक्तिको आवश्यकता छ । त्यो पार्टी क्षेत्रिय पार्टी नै हुनुपर्छ ।
यो तमलोपा सिंह दरवार केन्द्रित हुने छ की प्रदेश केन्द्रित ?
-यसमा हामी एकदमै स्पस्ट छौ । हाम्रो आधारभूत बुझाइ हो की हाम्रो पार्टी क्षेत्रिय हो । हाम्रो आधारभूमी मधेस नै रह्ने छ । अन्य पार्टीलाई हेर्नुस त, आफ्नो नामबाट तराई-मधेस शब्द समेत हटाई सकेका छन् । हामीले पार्टीको नामाकरण गर्दा तराई-मधेस शब्दको लागि ठूलै बहस गर्नुपरेको थियो । हामीले त मधेस लोकतान्त्रिक पार्टी नाम प्रस्ताव गर्यौ । तर निर्वाचन आयोगले होईन यो मधेस शब्दले क्षेत्रियतालाई झल्काउँछ । धेरैबेर जिकीर भएपश्चात हामीले त्योबेलाको तराई मधेस लोकतान्त्रिक पार्टी थियो त भनी सम्झना गराउँदा बल्ल तराई-मधेस शब्द सहितको तमलोपा गठन गर्न पायौं ।
भन्नाले मधेस प्रदेश केन्द्रित पार्टी बनाउनु हुन्छ तमलोपा लाई ?
-होइन । मधेस प्रदेश सहित प्रदेश नम्बर १ र लुम्बनी प्रदेशमा हाम्रा साथीहरु छन् उहाँहरुसँग हामी नियमित सम्पर्कमा रहेका छौं । उतातिर पार्टीले अहिले स्वरुप ग्रहण सकेको छैन् । तर पुराना मधेसी अभियन्ता साथीहरु, मधेसवादको मर्मलाई नयासिरा बाट लग्नुपर्छ भनी तटस्थ बस्नुभएका पहिलाका मधेसवादी दलका साथीहरु सबैलाई तमलोपाले साझा मंच प्रदान गर्ने र सँगठन बिस्तार गर्ने नै छ ।
देशमा अहिले गठबंधनको राजनीति हावी छ । तमलोपा कुन गठबंधनसँग मिलेर अगाडी बढ्ने छ ?
-छैन् यो चुनावपूर्वको गठबंधनमा हामी विश्वास गरेका छैनौ । यो त देशमा दुईवटा राजनीतिक धार निर्माण गर्ने प्रयाश हो जस्तो लाग्छ मलाई । हामी त अधिकारवादी पार्टी हौ । र अधिकारवादी पार्टीको लागि चुनाव नै सबैथोक हुन्छ भनी हामी मान्दैनौ । यसले त राज्य सत्तामाथि अधिकारको सुनिश्चित्ता हेतु दबाब समूहको काम समेत गर्नुपर्ने हुन्छ । हुन त यो नागरिक समाजको पनि कर्तव्यहो । तर दुर्भाग्यवस मधेसमा नागरिक समाजको अवस्था दयनिय नै देखिन्छ । विस्तारै यसमा सुधार आउँछ भनी मेरो विश्वास छ ।
तमलोपा गठबंधनमा जानुभन्दा पनि मधेसका सवालहरुलाई सडक संघर्षसँग जोड्ने छ । मधेसी मानसिकतालाई समेत मधेस लगायन सिमांतकृत समुदायको मुद्दा सँग जोड्ने प्रयाश गर्दै जाने हो । मधेसका सवालमा राज्यमाथि दबाब सृजना गर्दै जाने भनी दृढ संकल्पित छ ।
गठबंधन हुनुभनेको टु-पार्टी-सिस्टम हुन्छ र ? छिमेकी देश भारतमा एनडीए, यूपीएहरु अभ्यासमा छ । तर प्रदेशहरुमा क्षेत्रिय पार्टीहरुले आफ्नो सँगठन र राजनीति बँचाएकै छ त?
-होइन ठिक छ । तर हाम्रो कहाँ प्रादेशिक स्वात्ता छैन् नी । जब संघीयता फङ्गसन गर्न थाल्छ, प्रादेशिक अधिकारहरु पुर्ती हुन्छ, समग्रमा भन्दा प्रदेशहरुले ‘अटोनोमेसिटी’ ग्रहण गरेको अवस्थामा मात्र गठबंधनबारे ध्यान दिँदा राम्रो । म तपाईँलाई स्मरण गराउन चाहन्छु की केपी ओलीजी प्रधानमन्त्री भएकोबेला प्रदेशहरुलाई फगत एउटा एकाइको संज्ञा दिनुभएको थियो । अहिले पनि उहाँहरु एकात्मक सोँच मै राजनीति गरिरह्नुभएको छ । अनि एमाले, काँगे्रस जस्ता दलहरुसँग गठबंधन गर्नु उचित देख्दिन म । र तमलोपा एउटा दबाब समूहको भूमिका सहित राजनीतिलाई आधिकार प्राप्तको पथमा अगाडी बढाउन चाहन्छ ।
जहाँ हामी राजनीतिक सिद्धान्तमा चल्नुपर्छ भनि वकालत गर्छौ, नेपालमा बहुलवादको आफ्नै शौन्दर्य छ । त्यहाँ चुनावपूर्व यस्ता गठबंधनहरुले सिद्धान्ततहिन लोकतन्त्र तिर राजनीतिलाई डोर्याउन सक्ने खतरा हो । साँचिक्कै गठबंधन छ भनेत कम्तिीमा घोषणापत्र त साँझा हुनुपर्यो नी ? यो अरु केही होइन गठबंधको राजनीतिमा लागेका हरेक दल र नेकपा एमाले समेत ले राज्यको आर्थिक देखि लिएर राजनीतिक र अन्यसबै रिसोर्सहरुलाई दुईभागमा बाँडबखडा गर्न अग्रसर देखिएको छ । सथै गठबंधन गर्ने ठूला दलको भित्री उदेश्य भनेको क्षेत्रिय दलको राजनीति कसरी सखाप पार्नु हो । र बहुलवादी समाज रहेको नेपालमा बिभिन्न प्रदेशमा क्षेत्रिय पार्टी उदय हुनसक्ने सम्भावना माथि नै प्रहारको लागि एक किसिमको राजनीतिक षडयन्त्र हो यो । समग्रमा जनतालाई झुक्याउने काम बाहेक केही होइन ।
तमलोपाको कोर राजनीतिक सिद्धान्त छ केही ?
-मधेसवाद ।
के हो आजको मधेसवाद ?
-तमलोपाले बुझेको आजको मधेसवाद भनेको स्वक्ष क्षेत्रियता हो । बहुलवादमा आधारित राजनीति । राज्यका इन्सिटीचिउशनहरु लोकतान्त्रिक तवरले संचालन हुनुपर्यो । राज्यका बिभिन्न अंगहरुमा मधेसी लगायत सबै सिमान्तकृत समुदायको समावेशी र समानुपातिक उपस्थिती अनिवार्य । केही समय पहिला भन्नुभएको थियो की, साम्यवाद, समाजवादको कुरा त सुनेको छु तर के हो यो मधेसवाद ? हाम्रो धरातल नै हो मधेसवाद । हामीले आफ्नो पार्टीको नाम दर्ता गराउँदा मधेस शब्द राख्न निर्वाचन आयोगमा लड्नु परेको छ । अरुत सत्ताको सोपान चढ्न पार्टीबाट मधेस शब्द नै हटाए । नेपालमा समाजवाद, साम्यवाद जस्ता सद्धिान्तहरु केबल भ्राम हुन ! नेपालमा रहेको मधेसमा बसोबास गर्ने नागरिकहरु अधिकार र पहिचानको लडाई लड्दै आएको इतिहास छ । त्यही भएर मधेस जसको आधारभूमी हुन्छ मधेसवाद पनि उसैले बुझ्ने हो ।
अन्त्यमा, मधेसवादको वर्तमान र भविष्य ?
-वर्तमान बुझ्न खासै कठिनाई छैन् । चुनावी आधारमा मधेसवादलाई बुझ्न पछिल्लो स्थानीय निर्वाचनको मतपरिणामलाई याद गरे पुग्छ । राजनीतिकरुपले मधेसवाद अहिले गठबंधनमा सिट बाँडबाँफड गरेको देखिन्छ । मंसिर ४ को चुनावले मधेसवादको भविष्य बुझ्न सहयोग गर्ने छ । तर मलाई जहाँसम्म लाग्छ यसपाली मधेसवादी शक्तिहरु १०-१२ भन्दाबढि सिट जित्दैन पनि । त्योबेला मधेसले सोँच्छ, हाम्रा बौद्धिक समुदायले सोँच्छ की आज मधेसको राजनीति कहाँ छ भनेर । अहिले त रिएक्सन छ, मान्छे रिसाएका छन्, पार्टीहरुलाई अलि डण्ति गर्न खोजिरहेका छन् ।