
जनकपुर — मधेस प्रदेशमा जनता समाजवादी पार्टीका नेता लालबाबु राउतको नेतृत्वमा माओवादी (केन्द्र) र नेकपा (एस) को सरकार छ । कांग्रेसका ३ मन्त्रीलाई भने शुक्रबार राउतले पदमुक्त गरेका छन् । हाल मुख्यमन्त्री राउतसहित तीन दलका ७ मन्त्री बहाल छन् । उनीहरू सबै चुनावी प्रतिस्पर्धामा छन् ।
मुख्यमन्त्री राउतले प्रदेशसभा निर्वाचनका लागि पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । पर्साको निर्वाचन क्षेत्र नं. १(२) बाट प्रदेशसभा निर्वाचनका लागि मुख्यमन्त्री राउतले जसपा–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका हुन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका छन् । कुर्मी यसअघि ०७४ को निर्वाचनमा पराजित भएका थिए । पर्साको १(१) बाट उम्मेदवारी दिएका कुर्मी तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनबाट उठेका जन्नत अन्सारीसँग पराजित भएका थिए ।
सत्तारुढ गठबन्धनमा यसपालि पर्सा क्षेत्र नम्बर १ (१) माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका कुर्मी १ (२) मा गएका हुन् । उक्त क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले बागी उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमासमेत सर्राफले टिकट नपाउँदा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
०७४ को निर्वाचनमा मुख्यमन्त्री राउतले ९ हजार ८ सय ४ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेसका विजय सर्राफले ६ हजार ८ सय २९ मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रमा लोसपाका अर्का नेता शशिकपुर मियाँले समेत स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । राजनीतिक जानकारका अनुसार स्वतन्त्र उम्मेदवारबाट खासै फरक नपरे पनि कांग्रेसका उम्मेदवार कुर्मी मुख्यमन्त्री राउतलाई चुनौती बन्ने भएका छन् ।
उम्मेदवारी दर्ता गराएपछि मुख्यमन्त्री राउतका प्रतिद्वन्द्वीले प्रदेश सरकारको साइकल घोटाला, पोखरी सौन्दर्यकरणमा भएका अनियमितता, प्रदेशको राजधानी वीरगन्ज नबनाएको लगायतको मुद्दा उचालेका छन् । राउतले आफ्नो सरकारको पालामा भएका दलित सवलिकरण, शिक्षा स्वास्थ्यमा गरिएको परिवर्तन, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस विश्वविद्यालय, मधेस कृषि विश्वविद्यालय, बेटी पढाऊ बेटी बचाऊ, छोरी शिक्षा बिमा, महिलालाई ५० प्रतिशत आरक्षण, सहिद–घाइते राहत अनुदानलगायत काम देखाएर मत मागिरहेका छन् । मुख्यमन्त्री राउतले मधेस आन्दोलनको भावना बमोजिम भएको प्रदेशको नामकरणलाई ठूलो उपलब्धि बताएका छन् । ‘जनताको साथ जुडेको छु, काम गरेको छु,’ उनले भने, ‘विश्वास छ, जनताले मलाई फेरि जिताउने छन् ।’
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव सिरहाको क्षेत्र नं. २ (१) बाट उम्मेदवार बनेका छन् । मुख्यमन्त्रीको दाउमा रहेका मन्त्री यादव जसपाकै नेता हुन् । मुख्यमन्त्री राउत र यादव पार्टीभित्रै प्रतिस्पर्धी छन् । मन्त्री यादवलाई पुरानै प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका जीवछ यादवले कडा टक्कर दिएका छन् । सिरहा २ (१) मा ५४ हजार ५ सय ३१ मतदाता छन् । ती क्षेत्रमा नवराजपुर, औरही, बरियारपट्टी गाउँपालिका, अर्नामा गाउँपालिकाका २ वडा, सुखीपुर नगरपालिकाका २ वडा गरी कूल १९ वडा समेटिएका छन् ।
स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने उक्त क्षेत्रमा कांग्रेस–माओवादी गठबन्धनले १४ हजार ५ सय ३२ मत पाएको थियो । जसपा–एमाले गठबन्धनले २७ हजार ३ सय ५० मत पाएको थियो । जसपा केन्द्रीय परिषद सदस्यसमेत रहेका राजलाल यादवले स्वतन्त्र उम्मेदवारी दिएपछि मन्त्री यादवलाई चुनौती थपिएको छ ।
यस्तै, सिरहाकै क्षेत्र नम्बर ३ (२) बाट कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव चुनावमा प्रतिस्पर्धारत छन् । उनलाई चुनाव जित्न पेचिलो बनेको छ । उनले जसपा–एमाले गठबन्धनका रेणु यादव र गठबन्धनको विरोध गर्दै कांग्रेसबाट उम्मेदवारी दिएका संजयकुमार यादवसँग प्रतिस्पर्धा गर्नु परेको छ । त्यसो त यस क्षेत्रमा एमालेबाट विद्रोह गरी गोपाल यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा ५६ हजार ५ सय ५७ मतदाता छन् । सिरहा नगरपालिकाका २२ वडा त्यस निर्वाचन क्षेत्रमा छन् । यहाँ स्थानीय तह निर्वाचनमा एमालेले ९ हजार ९ सय ६, कांग्रेसले ९ हजार ८६, जसपाले ७ हजार ७ सय ५६, नेकपा (एकीकृत समाजवादी) ले ५ हजार ८ सय ९७ र माओवादी केन्द्रले १ हजार ४ सय ६६ मत पाएका थिए ।
प्रदेश सरकारका दुई जना मन्त्री सप्तरीबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र सामाजिक विकास मन्त्री नवलकिशोर साह चुनावी मैदानमा उत्रिएका हुन् । जसपाका अर्थमन्त्री साह सप्तरी क्षेत्र नम्बर १(१) र सामाजिक विकासमन्त्री साह क्षेत्र नम्बर २(२) बाट अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए । यो चुनावमा भने अर्थमन्त्री साह प्रदेशसभामै र सामाजिक विकासमन्त्री नवलकिशोर प्रतिनिधिसभाका उम्मेदबार बनेका हुन् ।
गत निर्वाचनमा अर्थमन्त्री साह १० हजार ५ सय ७७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्धन्दी माओवादीका उम्मेदवार सरोजकुमार मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए । यसपटक पनि दुवै उम्मेदवार आमनेसामने छन् । तर, गत निर्वाचनमा माओवादीबाट उम्मेदवार भएका मण्डल यसपटक लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्ता गठबन्धनका उम्मेदवार हुन् । सत्ता गठबन्धनको उम्मेदवार भएकाले मण्डलले जित्नेमा आशावादी रहेको बताए । प्रदेश सभाको यो क्षेत्रमा ३ मध्ये २ मा गत स्थानीय निर्वाचनमा लोसपाले जितेको थियो भने एउटामा नेपाली कांग्रेसले जित हात पारेको थियो । त्यसैले पनि अर्थमन्त्री साहलाई कडा चुनौती छ ।
साहलाई भावी मुख्यमन्त्रीको रूपमा पनि प्रचार गरिएको छ । पुराना प्रतिद्वन्द्वी मण्डल आमनेसामने रहँदा जनमत पार्टीवाट उम्मेदवारी दिएका तिलाठीकोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सतिशकुमार सिंहको उम्मेदवारीले यसक्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा देखिन्छ । ५ वर्ष गाउपालिकाको अध्यक्ष रहेका सिंह गत वैशाखको स्थानीय तहको निर्वाचनमा लोसपावाट उम्मेदवार भई पराजित भएपनि मनोनयनको केही दिनअघि जनमत पार्टी प्रबेश गरेका थिए ।
प्रदेशका अर्का मन्त्री नवलकिशोर यसपटक जसपाबाट प्रतिनिधी सभाको उम्मेदवारमा उक्लिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन राजपाबाट उनी सप्तरी १(२) वाट १३ हजार ६ सय ४७ मत ल्याई निर्वाचित भएका थिए । यो क्षेत्रमा सता गठबन्धनवाट कांग्रेसका जिल्ला सभापति रामदेव साह उम्मेदवार छन् । माओवादी छाडेर स्वतन्त्र रूपमा अशोककुमार मण्डल र डा. रोहित पोखरेल तथा चन्द्रनारायण यादब स्वतन्त्र उम्मेदवार छन् । जसपाका नेता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य चन्द्रनारायण यादवको स्वतन्त्र उम्मेदवारीले सामाजिक विकासमन्त्री साहलाई समस्यामा पार्न सक्ने कार्यकर्ताको बुझाइ छ ।
प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो नेकपा (एस) बाट धनुषा निर्वाचन क्षेत्र नं. ४(२) मा सत्ता गठबन्धनका उम्मेदवार बनेका छन् । यसअघि पनि उनी त्यही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । महतो (कोइरी) समुदायको बाहुल्य रहेको त्यो क्षेत्रमा उनका अन्य प्रतिस्पर्धी पनि कोइरी समुदायबाटै छन् । उक्त क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ११ उम्मेदवारमध्ये ८ जना महतो समुदायकै छन् । मन्त्री महतोलाई एमालेका उम्मेदबार हरिनारायण महतो र जनता समाजवादी पार्टीका उम्मेदवार चन्देश्वर महतोसँग कडा टक्कर दिने भएका छन् । पूर्व–पश्चिम राजमार्ग भन्दा तल र माथि फैलिएको यस क्षेत्रमा महतो, यादव, साहसँगै पहाडी समुदायको मतदाता उल्लेख्य छ ।
२०७४ को निर्वाचनमा मन्त्री महतोले कांग्रेसका वाशुलाल महतोलाई १ हजार २ सय ५१ मतान्तरले पराजित गरेका थिए । तर, अहिले मतदाताको अंकगणित भने बदलेको छ । मन्त्री महतोको पूर्व सहयोद्धा हरिनारायण महतो यसपटक उनकै प्रतिस्पर्धी बनेका छन् । एमाले–जसपाबीच यस क्षेत्रमा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने निर्णय भएकाले जसपाका चन्देश्वर महतो पनि चुनावी मैदानमा छन् ।
२०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा प्रदेशसभाको निर्वाचन जितेका महतो भने स्थानीय तहको निर्वाचन परिणामको आधारमा सत्ता गठबन्धन दलका दुवै उम्मेदवारको जित सुनिश्चित मान्छन् । ‘स्थानीय तहको परिणाम हेर्ने हो भने धनुषा प्रदेशसभा ४(२) मा पर्ने २२ वडामध्ये सत्ता गठबन्धन दलले १६ वडामा जितेको छ ।
यस आधारमा हाम्रो जित सुनिश्चित छ,’ उनले भने । धनुषा प्रदेश निर्वाचन क्षेत्र ४ (२) मा पूर्व–पश्चिम राजमार्गको मध्यमा अवस्थित मिथिला नगरपालिकाको १०, वटेश्वर गाउँपालिकाका ५ तथा क्षीरेश्वरनाथ नगरपालिकाका ७ गरी २२ वडा पर्छ ।
मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नं. १(२) बाट प्रदेश सभामा चुनाव लडेका हुन् । उनलाई माओवादीकै बागी र स्वतन्त्र उम्मेदवारको चुनौती छ । सत्ता गठबन्धनका अन्य दलले साहलाई साथ दिए पनि आफ्नै पार्टी माओवादी केन्द्रका नेता विष्णुबहादुर योञ्जनले उम्मेदवारी दिएपछि मन्त्री साहलाई चुनौती थपिएको छ ।
२०७४ को निर्वाचनमा साहले ४ सय २५ मतले पछि पारेका निकटतम प्रतिद्वन्द्वी विनोद महतो स्वतन्त्र रूपमा र ४ हजार ६ सय ८८ मतले पछि परेका रामश्रेष्ठ महतो एमाले–जसपा गठबन्धनबाट साहसँगै चुनावी मैदानमा छन् । पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिएका योन्जनको उम्मेदवारी कायमै रहे मन्त्री साहलाई पारिणाम आफ्नो पक्षमा ल्याउन सकस छ । २०७४ मा संघिय समाजवादि फोरमबाट साहसँग प्रतिष्पर्धा गरेका विनोद महतोलाई अहिले पार्टीको साथ छैन ।-कान्तिपुर