
सुनिता बराल,महोत्तरी - दिदीको विवाहमा जन्ती आएका डा. पंकज चौधरी नेहा चौधरीको आँखामा परे । दिदी (ठूलोबुबाकी छोरी) रागिनीका देवर पर्थे पंकज । परिवारभित्रकै नातेदार भएकाले उनीहरूको भेट हुन थाल्यो । काठमाडौं बसेर पढ्दै गरेकी नेहा र काठमाडौंमै डाक्टरी पेसा गर्ने पंकजबीच मन मिल्यो ।
महोत्तरीको औरही–१ घर भएकी नेहा र रामगोपालपुर–५ घर भएका पंकजका परिवारले एक वर्षभित्रै विवाहको कुरा टुंग्याए ।
०७७ फागुनमा नेहाको परिवारले होटलमा १० लाख खर्च गरेर टीकाटालो गरे । त्यसपछि नेहाकी कान्छी बहिनीले आफूखुसी विवाह गरिन् । बहिनीले अगाडि नै बिहे गर्दा बदनाम भएको भन्दै पंकज पक्षले विवाह गर्न आनाकानी गर्यो । विभिन्न बहाना बनाएर विवाह एक वर्षपछि धकेलिएको नेहाका बुबा सुरेश बताउँछन् । आफूलाई एमडी पढाउने खर्च दिनुपर्ने पंकजको माग इन्कार गरेपछि विवाहको समय धकेलिएको उनको भनाइ छ ।
०७८ फागुन २५ गतेलाई टुंगो लागेपछि दुवै परिवारले जनकपुरको होटल राजदरबारमा विवाह गराउने सहमति गरे । औरही बजारमा भएको घर र नजिकैको जग्गा बेचेर बिहेमा डेढ करोड खर्च भएको बुबा सुरेश बताउँछन् । ‘छोरीलाई कुनै तनाव नहोस् भनेर पंकजको परिवारले भनेझैं सबै सामान किनेर दियौं,’ उनले भने, ‘विवाह र टीकाटालो गरेको होटलमा मात्रै ३० लाख खर्च भएको छ ।’
पंकज काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिजिसियन हुन् । काठमाडौं बसेर पढिरहेकी नेहालाई विवाह सकेर पढाउने भन्दै टीकाटालोपछि नै पंकजकै परिवारले पढाइ छुटाएको थियो । १२ कक्षा सकेकी नेहाले श्रीमान्सँगै बस्ने र पढाइ अघि बढाउने प्रस्ताव राखिन् । उक्त प्रस्ताव अस्वीकार गर्दै परिवारले शारीरिक हिंसा सुरु गरेको नेहाको भनाइ छ । बुहारीले घर छाडेर श्रीमान्सँग बस्न नमिल्ने भन्दै पंकजकी दिदी रेखाले सम्झाएपछि आफूले प्रतिवाद गरेको उनले बताइन् । ‘दिदीलाई जवाफ लाएको भन्दै त्यसपछि पंकजले कुट्न थाले,’ नेहाले भनिन्, ‘अस्पतालमै उपचार गर्नुपर्ने अवस्था भयो । शरीरमा जताततै टोकेर घाइते बनाइदिएका छन् । म अझै ठीक भएकी छैन ।’
आफू कुनै हालतमा विवाह तोड्न नसक्ने तर न्याय चाहिने उनले बताइन् । ‘काठमाडौंमा बस्छु भन्दा तेरो माइतीले घर दाइजो दिएको छ र भन्छन्, माइतीलाई घर किनिदिन भन् भन्दै मानसिक तनाव दिन्छन्,’ उनले भनिन् ।
विवाहको आठ महिना नबित्दै नेहामाथि चार पटक निर्घात कुटपिट भएको माइती पक्षले बताएको छ । असोज २१ गते राति ८ बजे सासू गोदावरीदेवी र पंकज मिलेर मरणासन्न हुने गरी पिटेको र आफूहरूले ज्यान जोगाएर ल्याएको नेहाकी आमा बिन्दादेवीले बताइन् । ‘सम्धी रामप्रवेशले फोन गरेर तपार्इंको छोरीले झगडा गरेकी छ, उसको हालत खराब भइसकेको छ भनेपछि हामी गएर बचाएर ल्यायौं,’ उनले भनिन्, ‘जताततै नीलडाम र चोटपटकसहित घाइते भएर आएकी छोरीलाई कसरी फेरि घर पठाउनु ? उसले न्याय पाउनुपर्छ ।’
कात्तिक ४ गते नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिएकी छन् । लगत्तै पक्राउ परेका पंकजलाई घरेलु हिंसामा दुई दिनपछि थुन्न नमिल्ने भएपछि छाडिएको र थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए । घटनाबारे बुझ्न खोज्दा पंकजले प्रहरीमा छलफल र अनुसन्धान भइरहेकाले मुद्दाको किनारापछि मात्रै बोल्ने प्रतिक्रिया दिए ।