
जनकपुरधाम- धनुषाका सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको छ।

जिल्लाका चारवटै क्षेत्रमा निर्धारण गरिएको ६ सय ५ मतदान केन्द्र र ३ सय २२ मतदानस्थलमा आइतबार बिहानैदेखि उत्साहजनक उपस्थिति रहेको छ।

धनुषा निर्वाचन कार्यालयले जनाए अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमध्ये ५०० दशमलव ४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर-१ मा १५१ मतदान केन्द्र मार्फत ६१ हजार ६३३ पुरुष र ५६ हजार ९९४ महिला गरि कूल १ लाख १८ हजार ६२८ जना मतदाताले आ-आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।

त्यस्तै, २४७ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर-२ को १६५ मतदान केन्द्रमार्फत ६६ हजार ८१० पुरुष र ५७ हजार ९४४ महिला गरि १ लाख २४ हजार ७५५ मतदाताले मतदान गर्ने भएका छन् ।

१३५ दशमलव ५३ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित धनुषा निर्वाचन क्षेत्र नम्बर-३ मा १४५ मतदान केन्द्रमार्फत ६२ हजार ८७ पुरुष र ५१ हजार ९१९महिला सहित कुल १ लाख १४ हजार ९ जनाले आ-आफ्नो मताधिकारको प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत ब्रजेल प्याकुरेलले जानकारी दिए ।

त्यस्तै, ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनुषाको निर्वाचन क्षेत्र नम्बर-४ मा १४४ मतदान केन्द्रमार्फत ६२ हजार ३८५ पुरुष र ५४ हजार ८०८ महिला गरि कुल १ लाख १७ हजार १९५ जना मतदाताले मतदान गर्ने भएका छन् ।

धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् ।
प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर-१ मा २५, क्षेत्र नम्बर-२ मा १६, क्षेत्र नम्बर-३ मा ३१ र क्षेत्र नम्बर-४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइएका छन् । ८ मध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनले जिल्लाभरिमा करिव १ सय भन्दा बढिको संख्यामा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिएको बताए ।
आइतबार भईरहेको मतदानमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ-आफ्नो मताधिकारको प्रयोग गर्दै छन् । यसमध्ये ७५ प्रतिशत मत खस्न सक्ने निर्वाचन आयोगको अनुमान छ ।
जिल्लाभरि प्रत्यक्ष र समानुपातिकमा मतदान गर्न लाइनमा मतदाता बसेका छन् । सुरक्षाकर्मी र कर्मचारीहरुले समानुपातिकमा मतदान गरिरहेको जानकारी प्राप्त भएको छ।

त्यसैगरी महोत्तरीका सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गर्न मतदाताहरुको उत्साहजनक उपस्थिती देखिएको छ।
जिल्लाका चारवटै क्षेत्रमा निर्धारण गरिएको चार सय ९९ मतदान केन्द्र र दुई सय ५८ मतदानस्थलमा आइतबार बिहानैदेखि उत्साहजनक उपस्थिति रहेको हो ।
चारै क्षेत्रमा तीन लाख ९७ हजार मतदाता छन् । जसमध्ये दुई लाख १५ हजार एक सय ३१ पुरुष र एक लाख ८१ हजार आठ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
यसमध्ये ७० प्रतिशत मत खस्न सक्ने निर्वाचन आयोगको अनुमान छ । जिल्लाभरि प्रत्यक्ष र समानुपातिकमा मतदान गर्न लाइनमा मतदाता बसेका छन् । सुरक्षाकर्मी र कर्मचारीहरुले समानुपातिकमा मतदान गरिरहेको जानकारी प्राप्त भएको छ ।