धनुषा- धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ भने क्षेत्र नं १, २ र ४ मा अझ मतगणना सुरु हुन सकेको छैन ।
यी क्षेत्रहरुमा सर्वदलिय बैठक बसी रहेको र २ बजे देखि मतगणना सुरु गर्ने तयारि गरिएको बताइएको छ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले निर्वाचन आयोगले जारी गरेको नयाँ निर्देशिकाका कारण मतगणना ढिलो हुने भएको जानकारी दिनु भएको छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिक मतगणना गर्न निर्देशन जारी गरेका कारण यहाँको मतगणना अलि ढिलो हुने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो ।
उहाँले सोमबार बिहान मात्र यस्तो निर्देशन आएको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत प्याकुरेलले प्रत्यक्षतर्फको मतगणना स्थलको तयारी पुरा भइसकेको र समानुपातिकतर्फको मतगणना स्थल व्यवस्थान गर्न केही समय लाग्ने भएकाले मतगणनामा ढिलाई भइरहेको बताउनुभयो।
यस अघि मतपेटिका संकलनको कार्य पनि अबेर राती सम्म गरिएको हुँदा मतगणना सुरु गर्न ढिला भएको थियो।
प्याकुरलले चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित मतगणनास्थलहरूमा जम्मा भइ सकेकोले सर्वदलिय बैठक समेत कति क्षेत्रमा बसी सकेको र कतिपय क्षेत्रमा बसी रहेकोे बताउनुभयो ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक-फरक चार ठाउँमा हुँदै छ।
जिल्लाको क्षेत्र नम्बर-१ को धनुषाधाममा, क्षेत्र नम्बर-२ को तिनकौरियामा, क्षेत्र नम्बर-३ को जनकपुरधाममा र क्षेत्र नम्बर-४ को महेन्द्रनगरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।
उहाँले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताउनुभयो ।
धनुषामा कुल ६५.७७ प्रतिशत मतदान भएको छ। धनुषामा जम्मा खसेको मत ३ लाख १२ हजार १ सय ७० मध्ये महिला मतदाता १ लाख ६३ हजार ७ सय ४३ र पुरुष १ लाख ४८ हजार ४ सय २७ रहेको छ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६५.७७ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूणर् रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालले जनाएको छ।
धनुषाका धेरै मतदाताहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा भएकाले अपेक्षाकृत कम मतदान भएको अनुमान गरिएको छ ।
प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर-१ मा २५, क्षेत्र नम्बर-२ मा १६, क्षेत्र नम्बर-३ मा ३१ र क्षेत्र नम्बर-४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।


