
महोत्तरी : विद्यार्थी निष्काशन गर्ने खबर शिरीष न्युज लगायत विभिन्न संचार माध्यममा प्रकाशन प्रशासरण भएपछि आलोचित बनेकाे गौशाला नगरपालिकाको कार्यालयले अन्ततः विद्यार्थी निष्काशन गर्ने निर्णय फिर्ता लिएको छ।
गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले व्यवस्थित र नियमित पठनपाठनकाे माग राखेर आन्दोलन गरेपछि नगरप्रमुख डा. दिपेन्द्र महतोले उनिहरूलाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गरेका थिए। तर उक्त कार्यकाे चाैतर्फी आलोचना भएपछि मेयरले विद्यार्थी निष्काशन गर्ने निर्णय फिर्ता लिएकाे हाे।
सोमबार नगरप्रमुखसँग आएको टोलीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र शिक्षकहरूसँग परामर्श गरी आन्दोलित विद्यार्थीहरूलाई विना शर्त पठनपाठनमा सहभागी हुन दिने सहमति जनाएका हुन्। आइतबार विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएको भन्दै नगरप्रमुख महतोले एक साताका लागि आन्दोलित विद्यार्थीलाई विद्यालयबाट निष्काशन गर्ने मौखिक निर्देशन दिएको थियो।
विद्यार्थी निष्काशन गर्ने खबर विभिन्न संचार माध्यम आएपछि मेयर महताे सामाजिक सञ्जाल सहित सार्वजनिक रूपमा आलोचित भएपछि सो निर्णयलाई एकाएक उल्टाएर पठनपाठनलाई निरन्तरता दिइएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले जानकारी दिए। प्रधानाध्यापक यादवले भने, ‘नजिकमा आइरहेको परीक्षालाई ध्यानमा राखेर सो निर्णय नगरप्रमुखले फिर्ता लिएको हो।
नगरप्रमुख साेमवार विद्यालयमा आएर ती विद्यार्थीहरूलाई पढाउनका लागि निर्देशन दिएपछि कक्षा ९ र १० का विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा सक्रिय भएका छन्।’ नगरपालिकाको कार्यालयले सार्वजनिक गरेको नगरशिक्षकको अन्तिम नतिजापछि केही दिनमै सो विद्यालयमा आवश्यक मात्रामा शिक्षक पठाइने गौशाला नगरपालिकाको कार्यालय स्रोतले जनाएको छ।