काठमाडौं। नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै साहले आमजनता पार्टी गठनको घोषणा गरेका हुन्।
मन्त्री दिइए पुनः नेकपा माओवादी केन्द्रमै फर्किने तयारीमा रहेका भनिएका साहले बिहीबार पार्टी घोषणा गरेका हुन्। यसअघि मन्त्रीको माग गर्दै माओवादी जान लागेको चर्चा थियो।



उनी आफैँ अध्यक्ष रहेको पार्टीमा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटीसमेत गठन गरिएको छ। पार्टीको संसदीय विभाग प्रमुखमा रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका किरण साह रहेका छन् भने संगठन विभाग प्रमुखमा कुन्दन कुशहवा छन्।
यस्तै, प्रचारप्रसार विभाग प्रमुखमा चन्द्रभूषण साह, पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख रहेका छन्। नयाँ पार्टी निर्माणका लागि साहलाई न्यौपानेले दरिलो साथ दिए । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए।
न्यौपानेले प्रभुलाई नयाँ पार्टी बनाउन सहयोग गर्दा प्रभुकै अभियानमा रहेका भनिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने साथ दिएनन्। उनले साहको पार्टीमा कुनै संलग्नता नरहेको स्पष्ट गरेका छन्। यसअघि साह र उनी निकटस्थले साहको पनि नयाँ पार्टीमा सहभागिता रहने प्रचार गर्दै आएको थियो।
आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रूपान्तरण गरिएको साहले जानकारी दिए।






