काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रायलबाट भर्चुअल सम्बोधन गरी गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूलाई सुशासन प्रत्याभूत हुनेगरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका छन् ।
‘आवाज विहीनहरूको आवाज सुन्नुस’ ७७ जिल्लाका प्रजिअहरूलाई उनले भने–‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतै पनि देखिनुहुँदैन ।’ भर्चुअल बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए । आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै गृहमन्त्रीले बैठकमा भने–‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’
मन्त्री लामिछानेले तीव्र गतिमा काम गर्न आग्रह गर्दै भनेका छन्–‘जागिर खाए जसरी होइन्, हाईस्पिडका साथमा काम गर्नुस् ।’ न्यायमा सबै जनताको पहुँच हुनैपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागि अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’
लामिछानेले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यस्तै, शीतलहरको समस्या न्यूनीकरण गर्न चुस्त योजनाका साथ अघि बढ्न उनले सुरक्षा प्रमुखहरू र प्रजिअहरूलाई निर्देशन दिए ।




