जनकपुरधाम- जनकपुरधामका बैद्यनाथ साह आफूलाई अभियन्ता र समाजसेवीको रुपमा चिनाउँछन् । उनले आफूलाई ‘सेवक बैद्यनाथ’ भन्न रुचाउँछन् । जनकपुरधाममा आफू ठूलो समाजसेवी र सेवक हुँ भन्न उनी कहिल्यै पछि पर्दैनन् ।
उनी कहिले गरीबहरुको सेवा, कहिले अस्पतालमा रहेका असहायहरुको सेवा, कहिले कुनै गरीबको छोरीको बिहे त कहिले जानकी मन्दिरको सरसफाइमा आफू अति नै व्यस्त र मस्त रहेको कुरा समय समयमा सामाजिक सञ्जालमार्फत देखाउन खोज्छन् ।
बैद्यनाथले असहायहरुको सेवा गर्ने भावनाका साथ जनकपुरधाममा ‘असहाय संरक्षण मञ्च’ नामक सामाजिक संस्था पनि खोलेका छन् ।
गरीब, दिनदुःखीहरुको सेवा गर्ने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको सो संस्थाको नाममा बैद्यनाथले गुठी संस्थानसँग जग्गा, जनकपुरधाम उपमहानगरपालिकासँग सो जग्गामा भवन निर्माणका लागि लाखौंको आर्थिक सहयोग र भारत सरकारसँग एउटा एम्बुलेन्स पनि प्राप्त गरेका छन् ।




