महोत्तरी- पिपरा गाउपालिका स्थित सामुदायिक विद्यालयहरुमा गणित विषयको सिकाई सुध्रदै गएको देखिएको छ ।
हालै सम्पन्न गणित विषयको हाजिरी जवाफ प्रतियोगितामा लगभग सतप्रतिशत प्रश्नको जवाफ दिएका बालबालिकाहरुमा विषय प्रतिको रुची र सिकाईमा स्तरवृद्धि भएको देखिएको हो । कक्षा १,२ र ३ का छात्रछात्रालाई सोधिएको ७० प्रश्न मध्ये ६८ को जवाफ सहि दिएपछि कार्यक्रम आयोजकले पठनपाठनको स्तरमा क्रमिक सुधार आईरहेको प्रतिकृया दिएका छन् ।
महोत्तरीको पिपरा गाउपालिका स्थित १६ सामुदायिक विद्यालयको बालबालिकाहरुलाई गणित विषयको हाजिरी जवाफ प्रतियोगितामा सोधिएको प्रश्नहरुमा उनीहरुले लगभग सत प्रतिशत नै सहि जवाफ दिएका छन । श्री राम नारायण अयोध्या माध्यमिक विद्यालयमा आयोजित उक्त हाजिरी जवाफ प्रतियोगिताको पहिलो राउण्डमा ३६ प्रश्न सोधिएकोमा सो मध्ये ३५ प्रश्नको जवाफ सहि दिइएको थियो भने दोस्रो राउण्डमा सोधिएको ३४ प्रश्नमा ३३ को जवाफ बालबालिकाले सहि दिएका थिए ।
प्राय तराई मधेशका विद्यालयहरुमा गणित लगायतका विषयहरुमा बालबालिकाहरुको पठन पाठन कमजोर हुदै गएको देखिएकोमा पिपरामा भने फरक अवस्था देखिएको छ । जाइका आइएमई परियोजना अन्तर्गत उक्त पालिका स्थित सामुदायिक विद्यालयहरुको गणित विषयको शैक्षणिक अवस्था सुधारको लागि कार्यक्रम चलिरहेकोमा त्यसको प्रतिफल हाजिरी जवाफ प्रतियोगितामा देखिएको हो ।
बालबालिकाको गणित विषयको सिकाईको अवस्था र सिकाईको आदान प्रदानको अवस्था बुझ्न संचालन गरिएको सो हाजिरी जवाफ प्रतियोगितामा विगतको भन्दा सिकाईको अवस्थामा निक्कै सुधार आएको देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भरतबाबु सुवेदीले हाजिरी जवाफ कार्यक्रम पश्चात बोल्दै भने,“ बालबालिकाको तिक्ष्ण बुद्धीले प्रभावित भएको छु । विद्यालयहरुमा हाजिरी जवाफ कार्यक्रम हुनुले उनीहरुमा सकारात्मक उर्जाको विकास हुने र उनीहरुमा अझै राम्ररी पढ्न मनोबल उच्च हुने छ । यहा शैक्षणिक स्तर सुधारको लागि भएका विभिन्न प्रयासहरुको सकारात्मक नतिजा आईरहेकोमा यस प्रयासमा सहयोगी भुमिकामा रहेका सवैलाई धन्यवाद छ ।”
प्रतियोगितामा श्री दलित राष्ट्रिय आधारभुत विद्यालय प्रथम,श्री नेपाल राष्ट्रिय भवानी पब्लिक विद्यालय हर्दिया दोस्रो र श्री राष्ट्रिय आधारभुत विद्यालय अलिपटी तेस्रो भएका थिए भने श्री मा.वि. खैरवाले सान्त्वना पुरस्कार पाएको थियो ।
प्रत्येक विद्यालयबाट तिनजना छात्रछात्राले प्रतिस्पर्धा गरेको उक्त हाजिरी जवाफ प्रतियोगिताको आयोजन पिपरा गाउपालिकाले गरेको थियो भने सहयोग जाइका आइएमई परियोजनाले गरेको थियो । परियोजनाले पालिका भित्रका शिक्षकहरुको क्षमता वृद्धि,अतिरिक्त कृयाकलापको माध्यमबाट बालबालिकाको सिकाईमा सहजिकरण गर्दै आईरहेको छ ।
विगत भन्दा निक्कै सुधार आएको पिपराका सामुदायिक विद्यालयहरुमा थप सुधारको आवश्यक्ता रहेको परियोजनाको तर्फबाट केनिचितानाकाले बताएकि थिईन । उनले शिक्षकहरुले थप सहायता गर्न समेत सुझाईन ।
तर यो अझै पर्याप्त होईन । पाठयक्रम अनुसार अरु पनि विषयहरु रहेकोले सवै विषयको सिकाईमा स्तरवृद्धि आवश्यक छ । बालबालिकाहरुलाई सिकाउन शिक्षकले थप मिहिनेत गर्नु पर्ने आवश्यक्ता रहेकोले त्यस तर्फ ध्यान जानु आवश्यक रहको अभिभावकहरुको धारणा छ ।


