विराटनगर- प्रदेश नं. १ ‘कोशी प्रदेश’ भएको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकबाट कोशी नाम पारित भएको हो । नेकपा (एमाले) ले ल्याएको कोशी प्रदेश प्रस्तावको पक्षमा ८२ मत खस्यो ।
विपक्षमा ४ मत खसेको छ । सभा ९३ सदस्यीय छ । कोशी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादी केन्द्रका ११ र राप्रपाका ५ जनाले मतदान गरेका हुन् ।
एमालेका प्रदेश सभा सदस्य राम रानामगर प्रस्तावक र निरन राई र बिदुर लिङ्थेपको समर्थनमा कोशी नाममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् ।
कोशी नामको प्रस्तावमा एमालेका ४०, कांग्रेसका २९ र माओवादी केन्द्रका १२ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । १३ सांसद रहेको माओवादी केन्द्रका बाबुराम गौतम सभामुख छन् ।
विराटनगरमा निषेधाज्ञा
यता प्रदेश नं १ को प्रदेशसभामा नामकरणको विषय कार्यसूचीभित्र रही छलफल हुने भएपछि नामाकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुञ्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ।
विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर नामको टुङ्गो नलागेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
नामाकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ-संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।