
महोत्तरीको मठिहानी नगरपालिकाको वडा नं. २ मा स्वच्छ खानेपानीको लागि गरिब विपन्न दलित घरधुरीलाई २८ ट्युवेल प्लेटफर्म निर्माण गरिएको छ।

जर्मन राजदुतावासको सहयोग तथा रतौली युवा क्लव (आरवाइसी), महोत्तरीको सहजीकरणमा मठिहानी संचालित “स्वच्छ खानेपानी तथा सरसफाई मा अल्पसंख्यक दलित र गरिब घरधुरी पहुँच पुर्याउने तथा जागरूकता फैलाउने कार्यक्रम” अन्तर्गत निर्माण गरिएको उक्त ट्युवेल प्लेटफर्म पाएर स्थानीयहरु निकै खुशी भएका छन् ।

उक्त कार्यक्रममा अन्तर्गत सो वडामा २ वटा बाल क्लव गठन गरि सरसफाई सम्बन्धी जनचेतनामा मुलक तालिम समेत क्लवका सदस्यहरुलाई प्रदान गरि सरसफाई सामग्री समेत उपलब्ध गराईएको आरवाईसीका कार्यकारी निर्देशक बैजनाथ चौधरीले जानकारी दिए।

चौधरीको अनुसार निर्माण गरिएको ट्युववेल प्लेटफर्मलाई रेखदेख तथा व्यवस्थापनको लागि उपभोक्ता रेखदेख समिति गठन गरी समितिलाई सरसफाई खानेपानी तथा कोभिड १९बाट बच्ने उपाय सम्बन्धी तालिम समेत प्रदान गरिएको बताए ।
स्वच्छ खानेपानी तथा सरसफाई मा अल्पसंख्यक दलित र गरिब घरधुरी पहुँच पुर्याउने तथा जागरूकता फैलाउने कार्यक्रम अन्तर्गत सम्पन्न भई सकेका सबै कार्यक्रमको समाजिक लेखा परिक्षण समेत गरिएको छ।

समाजिक लेखा परिक्षणमा उपस्थित स्थानीयले आरवाईसीले निर्माण गरेको ट्युववेल प्लेटफर्मको साथै अन्य तालिमहरु सबै गुणस्तरीय रूपमा सफलता पूर्वक सम्पन्न भएको बताए ।
रेखदेख समितिका संयोजक विजय ठाकुरले स्वच्छ खानेपानीको लागि प्राप्त गरिएको ट्युबेल पाएर निकै खुशी भएको बताए । उनले स्वच्छ खानेपानीको अभावमा विभिन्न किसिमको रोगबाट पीडित हुने समस्या अब देखि समाधान भएको बताए।
उनले पछिल्लो पटक कोरोना महामारी र झाडा पखाला जस्ता विभिन्न रोग व्याधीबाट बच्न स्वच्छ खानेपानीको प्रयोग र सरसफाइमा ध्यान दिन पर्ने भएको हुँदा यस ट्युववेलले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
मठिहानी २ का वडा सदस्य उमो देवीको अध्यक्षतामा सम्पन्न समाजिक लेखापरिक्षण कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष मो.रयुक शेख, वडा नं. ३ का वडा अध्यक्ष नाजीर कवाडी सहित स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

त्यसैगरी स्थानीय नेता हरिचन्द्र ठाकुरले यस्तो किसिमको कार्यक्रम अन्य वडाहरुमा समेत संचालन गर्नुपर्ने माग गरे ।
उक्त समाजिक लेखापरिक्षणमा सर्वसहमतिबाट श्रमदान, संस्थाको आन्तरिक कोषबाट गरिएको सहयोग र जर्मनी दुतावासबाट प्राप्त १९ लाख ३४ हजार २२० खर्च समेत अनुमोदन गरिएको थियो।