जनकपुरधाम- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ बन्ने ऐनमा तहगत प्रणाली र कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्ने गरी सहमति भएको बताएका छन् ।
जनकपुरधाममा शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनको सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको उनले बताए ।
मन्त्री मोदीले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, स्थानीय तहका प्रमुखहरूसँग छलफल गरी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए ।
उनले भने, ‘दोस्रो संविधानसभा, अघिल्लो प्रतिनिधिसभादेखि निरन्तर संसद्मा भएकाले स्थानीय तहदेखि केन्द्रसम्म भोग्नुपरेका समस्याबारे जानकार छु । स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । सुशासन, कर्मचारी व्यवस्थापनलगायतका समस्या छन् । त्यसलाई सम्बोधन गर्ने गरी छिट्टै ऐन आवश्यक छ । संसद्को चालु अधिवेशनमा नै विधेयक पेस हुन्छ । त्यसैले अब कर्मचारीबाट सुशासनका लागि प्रतिबद्धता जरुरी छ ।’
ऐनमा तहगत प्रणाली र उमेर हदका विषयमा सहमति भएको बताउँदै उनले कर्मचारी सरोकारका विषयमा पनि सम्बोधन भएकाले धेरै समस्या समाधान हुने सरकारको अपेक्षा रहेको धारणा राखे ।