जनकपुरधाममा सञ्चारकर्मीहरुसंग धनुषा जिल्लामा संचालित बालबालिका सपना परियोजनाको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनलको आर्थिक सहयोग तथा सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रका निर्देशक सुखदेव ठाकुरको सभापतित्वमा भएको सो कार्यक्रममा धनुषा जिल्लाको विभिन्न क्षेत्रमा पछाडि परेका दुई वटा गाउँपालिकाको चार वटा वार्डमा यो परियोजना संचालनमा रहेको जानकारी गराइएको छ ।
सो परियोजनाले गर्भावस्थामा रहेका शिशुको हेरचाहदेखि तीन वर्ष सम्मको बालबालिकाहरुको स्याहार सुसारबारे अभिभावकहरुलाई प्रशिक्षित गर्ने मुख्य उद्देश्य रहेको केन्द्रका कार्यक्रम संयोजक विभष श्रेष्ठले बताए । उनले भने,‘विगत १० महिनाअघिबाट सुरु भएको यस परियोजनाले लक्षित वार्डका अभिभावकहरु सचेत हुँदै गएका छन्,यसको सकारात्मक परिणाम आएको छ ।’
परियोजनाले थालेको अभियानपछि गर्भवती हुँदा शारीरिक अवस्थामा खासै ध्यान नदिने आमाहरु सचेत हुँदै गएको देखिएको दाबी समेत गरिएको छ ।
परियोजना अन्तर्गत वार्डका स्वास्थ्यकर्मी (स्वयम् सेविका)लागयतलाई अभिभावक शिक्षा तालिम दिएर घर घरमा पुगेर आमाहरुसंग छलफल गरी बालबालिकाको स्याहार सुसार र उनीहरुको सर्वागिंण विकासका लागि चेतना फैलाउने काम भइरहेको बताइएको छ ।
धनुषा जिल्लाको विदेह नगरपालिकाको वार्ड नम्बर ३ र ९ तथा जनकनन्दनी नगरपालिकाको ३ र ४ नम्बर वार्डमा परियोजनाका कार्यक्रमहरु संचालित रहेको जनाइएको छ । बालबालिकाको सर्वांगिण विकासका लागि गर्भावस्थादेखि तीन वर्ष सम्ममा उसको देखभाल गर्ने तरिकाबारे समेत अभिभावकहरुलाई प्रशिक्षण दिइने गरिएको बुझिएको छ । विगत ९ महिनाको अवधिमा परियोजना मार्फत १८ सय भन्दा बढी आमा (महिला)हरुले कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी भइसकेको अभिमुखी कार्यक्रममा बोल्दै केन्द्रका निकिता यादवले बताइन् ।
यादवले कार्यक्रममा बालबालिकाको विकास र मानव स्वास्थ्य सम्बन्धी सहजीकरण गरेकी थिइन् । बालबालिकाहरुको सर्वांगिण विकास कालािग गर्भमा रहेको बेलादेखि नै अभिभावकहरु सचेत हुनु पर्ने आजको घनिभूत आवश्यकता रहेको उनको कथन थियो ।