जनकपुरधाम- सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई मोसो दलिएको छ ।
मंगलबार दिउँसो प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेलामा एकजना अपरिचित व्यक्तिले नगरप्रमुख श्रेष्ठमाथि मोसो दलेका हुन्।
मेयर श्रेष्ठले कार्यालयबाट सदरमुकाम जान गाडी चढ्ने बेलामा आफूमाथि मोबिल प्रहार भएको बताए ।
मोबिल प्रहारमा संलग्नलाई जनताले तत्काल पक्राउ गरेर प्रहरीमा बुझाएको उनले जनाकारी दिए ।
मेयर श्रेष्ठ सदरमुकाम सिरहामा आयोजित जिल्ला परिषदमा जानलाई गाडी चढ्ने बेलामा दिउँसो एकजनाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डलले बताए ।
मेयर श्रेष्ठले मोबिल छर्किने पक्राउ परेकोव बताए । उनले पक्राउ परेका सिरहा नरहा गाउँपालिका–४ का ४३ वर्षीय साधुचरण महरा रहेका छन् । उनले यस घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।
श्रेष्ठमाथि माेबिल छ्याप्नेहरु नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ता रहेका बताइएको छ।
मोबिल छ्याप्नेहरुले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ ।
छरिएको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्रेष्ठलाई लघुवित्त मार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।
फर्जी कागज बनाई गोलबजार नगरपालिका–१ मुक्सार बाटोको ६२ लाख रुपैयाँ हिनामिना गरेको, अवैधानिक तरिकाले नदीको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकता विरुद्ध सुराकी गरेकोले जनकारबाही गरिएको पर्चामा उल्लेख छ ।
जिल्लामा जनप्रतिनिधीमाथि मोबिल छ्यापेको पहिलो घटना हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले मोबिल छ्यापेको घटनामा संलग्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ता सिरहा नरहा गाउँपालिका–४ का ४३ वर्षीय साधुचरण महरालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।