
जनकपुरधाम- जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब)का कर्मचारीहरु बुधबारदेखि आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउन लागेका छन् ।
उनीहरुले बुधबार क्याम्पस प्रमुख प्रदिप कुमार प्रसादको कार्यालयमा तालाबन्दी गर्नुका साथै उनलाई क्याम्पस परिसरमासमेत प्रवेश निषेध गर्ने चेतावनी दिएका हुन् ।
विभिन्न ११ बुँदे माग राख्दै कर्मचारीहरु विगत तिनदिनदेखि आन्दोलित बनेपनि क्याम्पस प्रमुख प्रसादले कुनै चासो नदेखाएको आरोप लगाइएको छ ।
उनीहरुले पहिलो दिन आइतबार धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने दोस्रो दिन सोमबार क्याम्पसको प्रशासनिक कामकाज ठप्प पारेका थिए ।
उनीहरुले विद्यार्थी अनुसार कर्मचारी र शाखा हुनुपर्ने प्रमुख माग अघि सारेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र नेपाल प्रगतिशील कर्मचारी समुह रा.रा.ब. क्याम्पस एकाई कमिटिले गत चैत २४ गते १३ बँदे संयुक्त विज्ञप्ती मार्फत गरेको मागलाई क्याम्पस प्रमुख प्रसादले बेबास्ता गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विमल कुमार ठाकुरले बताए ।
उनले प्रथम चरणको शान्तीपुर्ण आन्दोलनलाई समेत बेबास्ता गरेको बताउँदै आफूहरुले सुरु देखिनै वार्ता र सहमतिबाट समस्याको निकास खोज्न बारम्बार आग्रह गरेको जिकिर गरे ।