महोत्तरी- लेनदेन मुद्दामा पाँच वर्षदेखि फरार रहेका पूर्ववडाध्यक्षलाई आज (बुधबार) महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका १२ का पूर्ववडाध्यक्ष रामतपेश्वर ठाकुर रहेको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा ठाकुरले पैसा तिर्न नसकेपछि २०७५ वैशाख ४ गते जिल्ला अदालत महोत्तरीले एक महिना कैद सजाय तोकेको थियो ।



अदालतको फैसला आएपछि तत्कालीन वडाध्यक्षकै पदमा रहेको ठाकुर फरार भएका थिए । पाँच वर्षपछि अदालतको फैसला कार्यान्वयनका लागि महोत्तरी प्रहरीले पूर्ववडाध्यक्ष ठाकुरलाई घरमै बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जनाएको छ ।





